पुरुष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक रसले बोलाए ३० खेलाडीलाई बन्द प्रशिक्षणमा

फाल्गुन २०, २०८१ | काठमाडौं
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
रसले सिंगापुर विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियाली कप छनोट खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । नेपालले चैत्र ८ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ । त्यसपछि चैत्र १२ मा मलेसिया विरुद्धको छनोट खेल खेल्ने छ । रसले युवा फरवार्डद्वय नीराजन धामी र सुवास बमलाई पनि टोलीमा समेटेका छन् ।
टोलीमा गोलकिपर किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ, डिफेन्डर अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास छन् ।
यस्तै, मिडफिल्डरमा लकेन लिम्बू, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छुन्जु छन् । यस्तै, फरवार्डमा जिलेस्पीजंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी छन् ।