प्रधानमन्त्री कप क्रिकेटमा आर्मीले कोशी प्रदेशको सामना गर्दै

चैत्र २, २०८१ | तिलोत्तमा
प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशको सामना गर्दैछ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आर्मी र कोशीबीचको प्रतिस्पर्धा बिहान ९ बजे सुरु हुनेछ ।
प्रतियोगितामा आर्मी अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । आजको खेलमा आर्मी आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । आर्मीविरुद्धको खेलमा कोशी पहिलो जित निकाल्ने योजनामा हुनेछ । विनोद भण्डारीको नेतृत्वमा आर्मी मैदान उत्रँदा कोशी प्रदेशको कप्तानी अंकित सुवेदीले सम्हाल्ने छन् ।
आर्मीको यो चौंथो खेल हो । यसअघिका तीनै खेलमा जित हासिल गरेको आर्मी ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लब समान ३ खेलबाट ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान ६ अंक भए पनि पुलिस नेट रनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो ।
आर्मीले आफ्नो पहिलो खेलमा बाग्मती प्रदेशलाई १३४ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिमलाई ८ विकेट र तेस्रो खेलमा कर्णाली प्रदेशलाई १२७ रनले पराजित गरेको थियो । अर्को विभागीय टोली एपीएफ क्लब भने तीन मध्ये दुईमा जित र एक खेलमा हार व्यहोर्दै चार अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
जारी प्रतियोगितामा कोशी प्रदेश भने जितविहीन छ । यसअघिका तीनै खेलमा पराजित कोशी अंक तालिकाको पुछारमा रहेको छ । कोशी आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशसँग २६ रनले पराजित भएको थियो । कोशीले दोस्रो खेलमा मधेससँग १६५ रन र तेस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग १५४ रनको हार व्यहोरेको थियो ।
प्रतियोगितामा तीन विभागीय टिम त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसहित सात प्रदेशका टिम सहभागी छन् । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदान तथा दाङको देउदुरीस्थित मैदानमा गत फागुन २५ गतेदेखि एकसाथ सुरु भएको प्रतियोगिताका खेलहरु सिंगल राउन्ड रोबिनका आधारमा भइरहेका छन् ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा फाइनलसहित १७ खेल हुनेछ भने तिलोत्तमा नगरपालिकास्थित एक्सट्राटेक ओभल मैदानमा १५ तथा दाङको लमहीमा १४ खेल हुनेछ ।