पीएम कप क्रिकेटमा कोशी प्रदेशको पहिलो जित

चैत्र ३, २०८१ | काठमाडौं

कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । भैरहवामा भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

 त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ रोजेको गण्डकी २० ओभर ४ बलमा ३१ रनमा अल आउट भएको थियो । यो पिएम कपको इतिहासमा पहिलो इनिङमा बनेको सबैभन्दा कम योगफल हो । यसअघि सन् २०१९ को पिएम कपको दोस्रो सेमिफाइनलमा नेपाल एपीएफ क्लब नेपाल पुलिस क्लबविरुद्ध ४१ रनमा समेटिएको थियो । 

यसैबीच, दाङको लमहीमा आज भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले हराएको छ । १ सय १६ रनको लक्ष्य पछ्याएको बागतमी २२ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली लुम्बिनीले ३२ ओभर ४ बलमा १ सय १५ रन बनाएको थियो ।

जितसँगै लुम्बिनीले ४ खेलबाट ६ अंक जोडेको छ । २ अंक जोडेको बागमती पुछारबाट दोस्रो स्थानमा छ । उता, सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको छ । १ सय ९० रनको लक्ष्य एपिएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । एपिएफ चौथो खेलमा ३ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ । 


प्रतिक्रिया