पीएम कप पुरुष क्रिकेटः आजका खेलमा आर्मी, एपीएफ र कर्णाली प्रदेश विजयी

चैत्र ८, २०८१ | काठमाडौं

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब तथा कर्णाली प्रदेश विजयी भएका छन् ।

दाङको लमहीमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । १ सय १७ रनको लक्ष्य आर्मीले २६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै आर्मी ७ खेलबाट १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट २ अंक जोडेको गण्डकी पुछारमा छ ।

रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट रंगशालामा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । जितसँगै एपीएफ ६ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम ७ खेलबाट ४ अंक छ ।

यसैबीच भैरहवास्थित एक्स्ट्रा टेक ओभलमा आज भएको खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ८१ रनले हरायो । पीएम कपको इतिहासमा मधेशमाथि कर्णालीको यो पहिलो जित हो । यो जितसंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५ ओभर २ बलमा १ सय ३९ रनमा समेटियो । कर्णालीले ७ खेलबाट ८ अंक जोडेको छ भने मधेशको ४ अंक छ ।


प्रतिक्रिया