टी-२० आई सिरिजमा नेपालको लगातार दोस्रो जित

चैत्र २८, २०८१ | काठमाडौं
कुशल भुर्तेलको बिस्फोटक ब्याटिङमा नेपालले हङकङमा जारी चार देशीय टी–२० क्रिकेट सिरिजमा लगातार दोस्रो जित निकालेको छ । मिसन रोड ग्राउण्डमा बिहीबार बिहान भएको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय इनिङ खेले । ओपनरद्वय कुशल र आशिफले पहिलो विकेटका लागि १२७ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
भुर्तेलले ५० बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८१ रन बनाए । कुशल भुर्तेल प्लेयर अफ दी म्याच घोषित भए । आशिफ ३८ बलको सामना गर्दै ५३ रनको योगदान गरे ।
दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र १२ बलमा ३१ रन बनाए । उनले २ चौका र तीन छक्का प्रहार गरे । अन्तिममा गुल्शन झाले दुई चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । कुवेतका लागि यासिन पटेलले दुई विकेट लिँदा मोहम्मद सफिक र मोहम्मद असलमको नाममा एक/एक विकेट रह्यो ।
त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ८५ रनको योगफल बनाएको हो ।
कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक ४१ रन बनाए । मीत भवसरले ३५ रन बनाउँदा बिलाल तहिरले ३२ रन जोडे । बलिङमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।
सोमपालले चार ओभरमा ३६ रन खर्चिए । यस्तै, नन्दन यादवले २, ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए । बुधबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालसहित कुवेत, कतार र हङकङ सहभागी छन् ।