यू १९ विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात

चैत्र ३१, २०८१ | काठमाडौं
यू १९ विश्वकप एसिया छनोटमा नेपाली युवा टोलीले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली यूएईलाई डकवर्थ लुइस पद्धतीका आधारमा ५ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले ३६ ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो ।
त्यसअघि नरेश भट्टको अर्धशतकमा नेपालले ९ विकेट गुमाएर २ सय रनको योगफल तयार पारेको थियो । टस हारेर ब्याटिङ गरेको नेपालले ४० ओभरमा घटाइएको खेलमा सो रन बनाएको हो । छनोट प्रतियोगितामा नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । प्रतियोगिताका सबै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधबार हङकङसँग र शनिबार अफगानिस्तानसँग खेल्ने तालिका छ ।