यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

वैशाख १, २०८२ | काठमाडौं
यू–१९ विश्वकप एसिया छनोट क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार दोस्रो जित निकालेको छ । काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।
नेपालले टस जितेर फिल्डिङ रोजेसँगै सुरुवाती ब्याटिङ गरेको ओमानको युवा टोलीले ३८ ओभरमा अल आउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो । ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि युवराज खत्रिले ५ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिए ।
१ सय १८ रनको सामान्य लक्ष्य नेपाली टोलीले १४ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि शाहिल पटेलले ४४, निरजकुमार यादवले ४६ तथा नरेन भट्टले १२ र सन्तोष यादवले १० रन बनाए । यसअघि हिजो भएको खेलमा नेपालले यूएईलाई डकवर्थ लुइस पद्धतीका आधारमा ५ रनले हराएको थियो ।
छनोट प्रतियोगितामा नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । प्रतियोगिताका सबै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।