सिमरा गोल्डकपको फाइनलमा हिमालयन शेर्पा र मछिन्द्र भिड्दै

चैत्र २९, २०८१ | काठमाडौं
१५ औं जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि हिमालयन शेर्पा क्लव र मछिन्द्र फुटवल क्लवबीच आज प्रतिस्पर्धा हुँदैछ । सिमरा रंगशालामा हुने उपाधि भिडन्त साँझ साढे ५ बजे सुरु हुनेछ ।
हिमालयन आयोजक नवजनजागृति युवा क्लब सिमरालाई हराउँदै फाइनलमा प्रवेश गर्दा मछिन्द्रले विएफसी भरतपुरलाई हराएर फाइनलको यात्रा तय गरेको हो । योसंगै हिमालयले चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्दैछ ।
यस्तै मछिन्द्रले दोस्रो पटक सिमरा गोल्डकपको फाइनल खेल्दैछ । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको रुपमा एक थान विद्युतीय स्कूटर दिइने आयोजकले जनाएको छ ।
यसैगरी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँ पाउने प्राप्त गर्नेछन् ।इमर्जिङ खेलाडीलाई १५ हजार र प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
फाइनल खेलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागि हुने बताइएको छ ।