आईसीसी यू-१९ विश्वकप एसिया छनोट : नेपालले यूएईसँग खेल्दै

चैत्र ३१, २०८१ | काठमाडौं

आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट काठमाडौंमा आजबाट सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । 

खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा अहिले केहीबेरमा सुरु हुनेछ । मूलपानीको तल्लो क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । छनोटमा नेपालसहित यूएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन् । 

प्रतियोगिताका सबै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् ।

नेपालले अफगानिस्तान यू–१९ सँग तीन युथ एकदिवसीय सिरिज खेलेर प्रतियोगिताको तयारी गरेको थियो । सो सिरिजमा नेपाल २–१ ले पराजित भएको थियो । 

आगामी बैशाख ६ गतेसम्म सञ्चालन हुने छनोट अन्तर्गत नेपालले भोलि ओमानसँग, बुधबार हङकङसँग र शनिबार अफगानिस्तानसँग खेल्ने तालिका छ । नेपालले यू–१९ विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । 

यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी यू–१९ कप जित्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक यू–१९ विश्वकप खेलिसकेको छ ।


प्रतिक्रिया