नेपालले टी-२० सिरिजको उपाधिका लागि कुवेतसँग खेल्ने

चैत्र ३१, २०८१ | काठमाडौं
नेपालले हङकङमा जारी चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । हङकङको मिसन रोड ग्राण्डमा नेपाल र कुवेतबीचको फाइनल खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
लिग चरणमा अपराजित रहेको नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराएको थियो । नेपालले राउन्ड रोबिनको पहिलो खेलमा कुवेतलाई ६ विकेट र कतारलाई ८ विकेटले पराजित गरेको थियो ।
हिजो भएको लिगको अन्तिम खेलमा हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपाल फाइनल पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
कुवेतले समूह चरणमा हङकङ र कतारलाई पराजित गरेको थियो । कुवेतले हिजो भएको अर्को खेलमा कतारलाई ६ विकेटले पराजित गरी नेपालसँगको भेट निश्चित गरेको थियो । दुई खेल जितेको कुवेतको ४, हङकङको ३ अंक रहेको छ । कतार सबै ३ खेलमा पराजित रह्यो ।