इप्स्विच टाउन प्रिमियर लिगको रेलिगेसनमा

वैशाख १४, २०८२ | काठमाडौं

न्युक्यासल युनाइटेड इंग्लिस प्रमियर लिग फुटबलमा इप्स्विच टाउनलाई पराजित गरेको छ । सेन्ट जेम्स पार्क स्टेडियममा भएको पछिल्लो खेलमा न्युक्यासलले १० खेलाडीमा सीमित इप्स्विच टाउनलाई ३–० गोलले हराएको हो । 

यो हारसँगै इप्स्विच टाउन प्रिमियर लिगको रेलिगेसनमा परेको छ । बेन जोनसन पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । 

दोस्रो हाफमा ड्यान बर्न र विलियम ओसुलाले गोल गरेपछि न्युक्यासलको जित पक्का भयो । यो जितसँगै न्यूक्यासल प्रिमियर लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको ३४ खेलबाट ६२ अंक भएको छ । 

इप्स्विचले अब साउथह्याम्प्टन र लेस्टर सिटीसँगै अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ । इप्स्विच भने तालिकाको १८ औं स्थानमा छ । 

प्रिमियर लिगका अन्य खेलमा चेल्सीले एभर्टनलाई १–०, उल्भ्सले लेस्टर सिटीलाई ३–० ले, ब्राइटनले वेस्ट ह्यामलाई ३–२ ले र फुलह्यमले साउथ ह्याम्टनलाई २–१ ले पराजित गरेको छ । 


प्रतिक्रिया