महिला एसियन कप फुटबलको छनोट आजदेखि

असार १५, २०८२ | काठमाडौं

एएफसी महिला एसियन कप फुटबलको छनोट आजदेखि उज्वेकिस्तानमा सुरु हुँदैछ । एसियन कप छनोट हुने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी लाओससँग खेलेर छनोट यात्रा सुरु गर्नेछ । 

खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । यस खेलमा नेपाल लाओसलाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । नेपालका लागि यो एक खेल मात्र नभएर अन्तर्राष्ट्रिय महिला फुटबलमा ऐतिहासिक खेल समेत हुनेछ । 

यो नेपाली राष्ट्रिय महिला फुटबल टिमको एक सयौं अन्तराष्ट्रिय खेल पनि हो । छनोट खेलमा नेपाल, उज्वेकिस्तान, लाओस र श्रीलङका गरी चार टिमको सहभागिता छ ।

हिजो भएको प्रि–म्याच कन्फरेन्समा सवै टिमले शीर्ष स्थानमा रहने लक्ष्य रहेको उल्लेख गरेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले प्रतियोगितामा सबैले राम्रो फुटवल खेलुन् भन्ने चाहना रहेको प्रतिक्रिया दिए । 

महिला फुटबलमा नेपाल र लाओस पहिलो पटक आमनेसामने हुन लागेका हुन् । फिफा वरियताका आधारमा लाओस नेपाल भन्दा पछि छ । नेपाल एक सय र लाओस एक सय सातौं स्थानमा छ । 

नेपालले दोस्रो खेल असार १८ मा श्रीलंकासँग र उज्वेकिस्तानसँग असार २१ मा प्रतिस्पर्धा गर्नेछ । आजै घरेलु टोली उज्वेकिस्तानले श्रीलंकासँग खेल्नेछ । समूह ‘एफ’मा उज्वेकिस्तान सबैभन्दा बलियो टोलीको रुपमा रहेको छ । तालिकाको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष अस्ट्रेलियामा हुने फाइनल चरणका लागि छनोट हुनेछ ।


प्रतिक्रिया