कोपा अमेरिकाको उपाधि ब्राजिललाई

श्रावण १९, २०८२ | काठमाडौं
महिला कोपा अमेरिका फुटबल २०२५ को उपाधि ब्राजिलले जितेको छ । इक्वेडरको स्टाडियो रोड्रिग्व पाज डेलगाडामा गएराति भएको फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै ब्राजिल च्याम्पियन बनेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल ४–४ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । ब्राजिलले दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो नवौंपल्ट हो ।
खेलमा कोलम्बियाले तीन पटक अग्रता लिएको थियो र प्रत्येक अवसरमा ब्राजिल खेलमा फर्कन सफल रह्यो । दुवै टिमले सुरुदेखि आक्रामक खेलेको थियो ।
कोलम्बिया आफ्नो महिला फुटबलको इतिहासमै पहिलो महादेशीय उपाधि नजिक देखिएको थियो । टाइब्रेकरमा पनि कोलम्बियाले नै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन ।
सडन डेथमा कोलम्बियाका लागि काराबाली गोल गर्न चुकेपछि ब्राजिलले कीर्तिमान नवौंपल्ट उपाधि जित्न सफल भयो ।