युएई जानुपर्ने नेपाली क्रिकेट टोलीको भिसा अझै आएन

आश्विन ४, २०८२ | काठमाडौं
यूएईले भिसा नदिएपछि वेस्ट इन्डिजसँग हुने टी–२० सिरिजका लागि जानुपर्ने नेपाली खेलाडी अझै त्यसतर्फ जान पाएका छैनन् ।
यसअघि हिजो यूएई जाने तयारी भएपनि अन्तिम समयसम्म भिसा नआएपछि रोकिएको थियो । आज शनिबार भएकाले भिसाबारे कुनै जानकारी नआएपनि भिसा उपलब्ध गराउनका लागि समन्वय भइरहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
आइसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध नेपालले पहिलो पटक टी–२० शृंखला खेल्न लागेको हो । दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहामा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ । सो सिरिजपछि नेपाली टोली टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटको प्रतिस्पर्धाका लागि ओमान जाने तालिका छ ।