मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्नुपर्ने माओवादीको प्रस्ताव

आश्विन ५, २०८२ | काठमाडौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव गर्नुभएको छ ।

समसामयिक बिषयमा छलफल गर्न बसेको पदाधिकारी बैठकमा दाहालले आगामी मंसिरमा विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो । दाहालले केन्द्रीय समिति बैठकबाट महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव समेत राखेको नेताहरुले बताएका छन् ।

केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचना भत्काएर नयाँ संरचना बनाउनुपर्ने उहाँको भनाइ छ । उपमहासचिव जनार्दन शर्मा र केही केन्द्रीय नेताले पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग उठाइरहेका बेला अध्यक्ष दाहालले विशेष महाधिवेशनमा जाने प्रस्ताव अघि सार्नुभएको हो । 


प्रतिक्रिया