वार्मअप म्याचमा नेपालले क्यानडालाई हरायो
माघ २२, २०८२ | काठमाडौं
आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले वार्मअप म्याचमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।
भारतको चन्नईस्थित रंगशालमा क्यानडाले दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आसिफ शेखले ५८ रनको अर्धशतकिय इनिङ्स खेले ।
यस्तै सन्दीप जोराले ४४ तथा गुल्शन झाले ३१ रन जोडे । क्यानडाका अजयविर सिंह, जसकरन सिंह र साद बिन जफरले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन बनाए ।
नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २/२ विकेट लिए । नेपालले यसअघि पहिलो वार्मअप म्याचमा संयुक्त अरब इमिरेट्स यूएईलाई ७ विकेटले हराएको थियो ।
नेपालले त्यसअघि मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँगको दुई अभ्यास खेल जित्दा, श्रीलंकाको ए टोलीसँग भएको ३ खेलको सिरिजमा २–१ ले पराजित भएको थियो ।
आगामी शनिबारबाट सुरु हुने विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेल आइतबार नेपालले इंग्ल्याडविरुद्ध खेल्नेछ ।
यसैबीच, नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टिमको लक्ष्य भनेकै टी–२० विश्वकप २०२६ को सुपर–एट पुग्ने रहेको बताएका छन् ।
आईसीसी टी–२० विश्वकप सुरु हुन दुई दिन अगाडि भारतीय क्रिकेट बोर्ड बीसीआईको मुख्यालयमा आयोजित ‘क्याप्टेन्स डे’ कार्यक्रममा यो विश्वकपमा नेपालको सहभागिताले अबको पुस्तालाई क्रिकेटमा पनि यस खेलसँग जोडिन प्रेरित गर्ने उनले बताएका छन् ।
यस्तै, विश्वकपमा नेपाली टोलीको प्रदर्शन राम्रो हुने रोहितले दाबी गरे ।








