टी–२० विश्वकपमा इङल्याण्डसँगको खेलमा नेपाल ४ रनले पराजित

रेडियो कान्तिपुर संवाददाता

माघ २५, २०८२ | काठमाडौं

आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग पराजित भएको छ । मुम्बईको वाङ्खडे क्रिकेट स्टेडियममा भएको खेलमा ४ रनले पराजित भएको हो । इङ्ल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य भेट्टाउने क्रममा नेपाल निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटिएको हो । 

नेपालका लागि छैटौं नम्बरमा ब्याटिङका लागि मैदान प्रवेश गरेका लोकेश बमले २० बलको सामना गर्दै ३९ रन जोडेर टोलीलाई जितको नजिक पुर्याएका थिए । अन्तिम बलमा ६ रन चाहिएको अवस्थामा श्याम करनको बलमा बमले १ रन मात्र बनाउन सके । त्यसअघि ओपनर कुशल भूर्तेलले २९, कप्तान रोहित कुमार पौडेलले ३९ र दीपेन्द्र सिंह ऐरिले ४४ रन जोडेका थिए । 

त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको इंग्ल्याण्डले ज्याकोब बेथेलको ५५ तथा कप्तान हृयारी ब्रुकको ५३ रनको अर्धशतकको मद्दतमा १ सय ८४ रनको योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २÷२ तथा शेर मल्ल र सन्दीप लामिछानेले एक÷एक विकोट लिएका थिए ।

यसैबीच अन्तर्राष्ट्रिय मञ्चमा भएको खेलमा नेपाली टोलीले आज देखाएको प्रदर्शनलाई लिएर अन्तर्राष्ट्रिय समूदायबाट नेपाली टोलीको प्रशंसा भएको छ । चर्चित क्रिकेट लिग आईपीएलका राजस्थान रोयल्स, पञ्जाव किङ्ग्स, चेन्नई सुपर किङ्स, मुम्बई इण्डियन्स लगायत टोलीलले नेपाली क्रिकेटको प्रशंसा गरेका छन् । 

यस्तै भारतका क्रिकेट स्टार युवराज सिंह, दक्षिण अफ्रिकाका तीव्र गतिका बलर डेल स्टेनले नेपाली क्रिकेटको तारिफ गर्दै सहयोग गर्न तयार रहेको बताएका छन् । समूह सीमा रहेको नेपालले अब यहि माघ २९ गते विहिबार पहिलो पटक विश्वकप खेल्न लागेको इटालीसँग प्रतिस्पर्धा गर्ने छ भने फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ ।

यसैबीच टी–२० पुरुष विश्वकप क्रिकेटमा न्यूजील्याण्डले विजयी शुरुवात गरेको छ । भारतको चेन्ननाईमा भएको समूह डीको खेलमा अफगानीस्तानमाथि ५ विकेटको जित हात पार्दै न्यूजील्याण्डले विजयी शुरुवात गरेको हो । 

अफगानिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य न्यूजील्याण्डले निर्धारित ओभर सकिनु भन्दा १३ बल अघि नै पूरा ग¥यो । न्यूजील्याण्डको जितमा टीम सेफर्टले सर्वाधिक ६५ तथा ग्लेन फिलिप्सले ४२ र ड्याल मिचेलले नट आउट रहँदै २५ रन बनाएका थिए । समूह डीमा रहेको न्यूजील्याण्डले अफगानीस्तालाई पराजित गरेसँगै २ अंक बनाएको छ । 

सो समूहमा क्यानडा, दक्षिण अफ्रिका र यूएई रहेका छन् । यसैबीच अहिले जारी अर्को खेलमा श्रीलङ्का र आयरल्याण्डबीच कोम्बोमा प्रतिस्पर्धा भइरहेको छ ।  


प्रतिक्रिया