सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी प्रि-स्टाइनलाई

श्रावण २२, २०७७ | पर्सा

पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतको प्रि–स्टाइन भ्याली ड्राइपोर्ट प्रालिले पाएको छ । हिमालयन टर्मिनलले बिहीबार बन्दरगाह सञ्चालनको जिम्मेवारी नयाँ ठेकेदार कम्पनी प्रि–स्टाइनलाई हस्तान्तरण गरेको हो । 

टर्मिनलका सीइओ विष्णुकान्त चौधरीले प्रि–स्टाइन भ्यालीका निर्देशकद्वय रजनिश कुमार र अमित कुमार सहितको टोलीलाई बन्दरगाहको व्यवस्थापन जिम्मेवारी आज हस्तान्तरण गरेका हुन् । 

प्रि–स्टाइनले बन्दरगाहका भारी उपकरण तथा कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारहरु पनि ३ महिनाका लागि हिमालयन टर्मिनलसँग भाडामा लिएको इन्टर मोडल यातायात विकास समितिका वरिष्ठ अधिकृत हेमेन्द्र मोहन शाहीले जानकारी दिनुभयो । सन् २००४ देखि सिर्सिया सुक्खा बन्दरगाह भारतीय रेल्वेको भगिनी संस्था कोन्करले नेपाली कम्पनी हिमालयन टर्मिनल्ससँग साझेदारीमा सञ्चालन गर्दै आएको हो ।

पहिलो १० वर्षे अवधिको ठेक्का टर्मिनल्सले ६३ करोड रुपैयाँमा पाएको थियो । दोश्रो पटक सन् २०१५ देखि ५ वर्षको लागि बन्दरगाह सञ्चालनको ठेक्का पाएको टर्मिनल्सले त्यति बेला नेपाल सरकारलाई १ अर्ब २० करोड रुपैयाँ बुझाएको थियो । टर्मिनल्सको ५ वर्षे ठेक्का यस वर्षकै जनवरी ६ मा सकिएको थियो । तेश्रो पटकमा कोन्करनै ठेक्काको प्रतिस्पर्धामा सहभागी भएपछि हिमालयन टर्मिनल्स आफै भने प्रतिस्पर्धामा आएन ।

नयाँ कम्पनी चयन नभएपछि जुलाई ६ सम्मका लागि बन्दरगाह सञ्चालनको अवसर पुन: टर्मिनल्सलेनै पाएको थियो । त्यस अवधिमा पनि प्रि–स्टाइन आउन नसकेपछि जुलाई ७ देखि थप एक महिनाका लागि टर्मिनल्सलाई बन्दरगाह सन्चालनको आग्रह गरिएको थियो ।

नयाँ ठेकेदार कम्पनी प्रिस्टाइन मेगा लजिष्टिकले बन्दरगाह सञ्चालनका लागि समितिसँग सम्झौता गर्न नेपाली कम्पनीलाई पनि साझेदार राख्नुपर्ने अनिवार्य भएकाले उसले भ्याली फिड नामक नेपाली कम्पनीसँग साझेदारी गरेको हो । भारतीय कम्पनीले सोझै समितिसँग सम्झौता गर्न नपाउने भएकाले यसका लागि उसले नेपाली साझेदार राखेको हो ।

प्रिस्टाइनले ५ वर्षका लागि बन्दरगाह सञ्चालनको ठेक्का पाएको हो । समितिले न्यूनतम २ अर्ब रुपैयाँ तोकेर ठेक्का आह्वान गरेकोमा प्रिस्टाइनले सर्वाधिक ३ अर्ब ३३ करोड रुपैयाँमा ठेक्का सकारेको हो । समितिले खोलेको आर्थिक प्रस्तावमा ५ कम्पनी मध्ये सबैभन्दा बढी रकम प्रिस्टाइनकै थियो । 

आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनमा समेत यो कम्पनी अग्रस्थानमा रहेको थियो । प्राविधिक प्रस्तावमा प्रिस्टाइन भन्दा अगाडि रहेको कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) ले २ अर्ब ८१ करोड रुपैयाँ प्रस्ताव गरेको थियो । प्राविधिक प्रस्तावमा प्रिस्टाइन कोन्करपछि दोस्रो स्थानमा रहेकोमा आर्थिकमा अग्रताका कारण उसैलाई ठेक्का परेको हो । प्राविधिक क्षमताको ६० र आर्थिक प्रस्तावको ४० अंकभार मूल्यांकन गरिएको थियो ।

भारतको रेल्वे सन्जालसँग जोडिएको यो बन्दरगाहमा कोलकाता, हल्दिया र बिशाखापटनम बन्दरगाह हुँदै तेश्रो मुलुकबाट वस्तु आयात हुने गरेको छ । भारतबाट फलाम र चिनी, तेश्रो मुलुकबाट मदिरा, रासायनिक मल, गेडागुडी, विद्युतीय पार्टपुर्जा, औद्योगिक कच्चा पदार्थ, विद्युतीय सवारी साधन आदि आयात हुन्छन् । बियर, चाउचाउ, हस्तकलाका सामग्री आदि नेपालबाट तेश्रो मुलुक निकासी हुन्छन् ।

बन्दरगाह सञ्चालनको पहिलो ६ वर्ष घाटामा गएको हिमालयन टर्मिनल्सले त्यसपछि भने मुनाफा आर्जन गर्न थाल्यो । सुरुवात ताका कामको अवसर कम पाएको बन्दरगाहले पछिल्लो केही वर्ष कामको भार थेग्न सकेन । सञ्चालनमा आएको पहिलो वर्ष अर्थात आव २०६१/६२ मा यो बन्दरगाहमा ८५ रेल र्‍याकमा ५ हजार ६ सय ५१ कण्टेनर आएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा ५ सय ३७ रेलमा ४९ हजार २ सय १८ कन्टेनर आएका थिए । आव २०७६/०७७ मा ४ लाख ९७ हजार ५ सय मेटन बोराबन्द कार्गो र ५ लाख २० हजार मेट्रिक टन फलाम यो बन्दरगाहमा आयात भएको थियो ।


प्रतिक्रिया