गाउँमै गरिन्छ योजनाको सम्झौता

पुस २६, २०७६ | लमजुङ

वडाको प्राथामिकतामा परेको योजनालाई गाउँपालिकाले प्राथामिकतामा राख्छ । प्राथामिकतामा राखेको योजनामा बजेट पर्छ । योजना कार्यान्वयन गर्न गाउँपालिका अध्यक्ष र सचिव मार्फत उपभोक्ता समिति गठन गर्न सूचना पठाइन्छ । उपभोक्ता समिति गठन हुन्छ । 

उक्त उपभोक्ता समिति योजना सम्झौता गर्न गाउँपालिकाको कार्यालय धाउनु पर्दैन । योजना सम्झौता गर्न गाउँपालिकाका कर्मचारी उपभोक्ता खोज्दै गाउँ पुग्छन् । यो सुविधा लमजुङको क्व्होलासोंथर गाउँपालिकामा छन् । 

क्व्होलासोंथर गाउँपालिका ५, सिङदीका अध्यक्ष गीतबहादुर गुरुङका अनुसार कर्मचारी आएर सबै योजनाको सम्झौता गरेर गइसकेका छन् । योजनाको काम भइरहेको छ । काम सकेपछि एकैपटक भुक्तानी लिने योजनामा उपभोक्ता छन् । गाउँपालिकाले कर्मचारीलाई खटाएपछि उपभोक्ता कार्यपालिकासम्म पुग्नुपर्ने झन्झट टरेको वडा नं. ५ का अध्यक्ष मनलाल गुरुङले बताउनुभयो ।

 गाउँपालिकाका योजना शाखाका नायव सुब्बा चित्र घलेका अनुसार गाउँमा पुगेर पायक पर्ने ठाउँमा योजना सम्झौताका लागि उपभोक्तालाई बोलाइन्छ । गाउँबाट टाढा भएको ठाउँमा टोलमै पुगेर योजना सम्झौता गरिएको छ । 

सम्झौता गर्न प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, प्राविधिक शाखा, लेखा शाखाका कर्मचारी गाउँमा पुग्छन् । कहिलेकाहीं अध्यक्ष र उपाध्यक्ष पनि जाने गरेको उहाँले बताउनुभयो । कतिपय योजना सकिएर अनुगमन भइसकेको र भुक्तानी समेत लगेको उहाँले जानकारी दिनुभयो ।

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले उपभोक्ताको सुविधालाई ध्यानमा राखेर कर्मचारीलाई गाउँ/गाउ/मा खटाएको बताउनुभयो । घरआँगनमै पुगेर कर्मचारीलाई सेवा दिन निर्देशन दिएको पनि उहाँले बताउनुभयो । 

गाउँ पुगेका कर्मचारीले गाउँलेलाई भेला गर्ने, योजनाको बारे जानकारी गराउने, उपभोक्ता समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराउने र योजना सम्झौता गर्ने गरेको उहाँले सुनाउनुभयो ।

क्व्होलासोंथर गाउँपालिकाको मिदिम नदी पारी ५ वटा वडा छ । वारी ४ वटा वडा छ । गाउँपालिका कार्यालय वडा नं. २ मालिङमा छ । बर्खायाममा पोखरा पुगेर दमौली हुँदै बेंसीसहरबाट मालिङ आफ्नो गाउँ कार्यपालिका पुग्नुपर्ने बाध्यता स्थानीयलाई छ ।

कास्कीको सीमासँग जोडिएका वडाहरु आफ्नै गाउँ कार्यपालिका पुग्न २ दिन लाग्छ । हिउँदमा मिदिम खोला तरिन्छ । भौगोलिक विकटता भएर पनि कर्मचारीलाई गाउँगाउँ खटाएको अध्यक्ष घलेले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुका अनुसार कर्मचारी गाउँमै गएर गरिएको योजना सम्झौता प्रभावकारी भएको छ । योजना सम्झौता गरेकै दिनदेखि उपभोक्ताले काम गर्न थालेको छ । 

गाउँपालिका भित्र १ सय ६६ वटै योजना सम्झौता गरेर आगामी चैत मसान्तभित्र सबै योजना सक्ने गरि काम अघि बढेको उहाँले जानकारी दिनुभयो । योजना चैतमै सकिएपछि ‘असारे विकास’ नहुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया