विद्यालय खुलाउन हतार नगर्न जनस्वास्थ्य विज्ञको सुझाव

असार ३१, २०७७ | काठमाडौं

– सरकारले असार १ गतेदेखि शुरु गरेको वैकल्पिक सिकाई अभियान अपेक्षा अनुसार प्रभावकारी निश्कर्ष निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको समीक्षामा सबै विद्यार्थीको प्रविधिमा पहुँच नपुगेकाले सबै समेट्न नसकिएको निश्कर्ष निकालिएको हो । लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाको सिकाई प्रभावित भएको भन्दै सरकारले विद्यालय खोल्ने विकल्पका बारेमा पनि छलफल शूरु गरेको छ । कोभिड १९ को जोखिम कम रहेका स्थानमा साउनको बीचबाट विद्यालय खोल्न सकिने गरी मन्त्रालयले तयारी अघि बढाएको हो ।

सरकारले नै गरेको समीक्षामा सबै विद्यार्थीको सहभागिता एकनासको नभएको निचोड निस्किएको छ । विद्यार्थीको सहभागिता नै यकिन गर्न नसएिको शिक्षा मन्त्रालयले स्वीकारेको छ । कतिपय स्थानमा विद्यार्थी पनि अभिभावकसंगै खेतीपातीमा व्यस्त हुँदा सिकाई प्रभावकारी हुन सकेन । यसै विषयलाई ध्यानमा राख्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सातैवटा प्रदेशमा विद्यालय खोल्न सकिने अवस्थाको अध्ययन गरेको छ । प्रदेश १ को शिक्षा क्षेत्रका व्यक्तिहरुसंग छलफल गर्नु भएका सह सचिव तुलसी थपलिया कोरोना संक्रमणको जोखिम कम भएका स्थानमा अवश्यक सावधानी अपनाएर विद्यालय खोल्ने प्रस्ताव आएको बताउनुहुन्छ ।

कोभिड १९ महामारीका कारण गरिएको भर्चुअल छलफलका क्रममा सामाजिक मन्त्रालय , शिक्षा निर्देशनालय, विद्यालयका प्रधानाध्यापक, समन्वय ईकाईका प्रतिनिधि लगायतका सहभागि थिए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा छलफलका क्रममा मिश्रित धारणा आएको बताउनुहुन्छ । सातवटै प्रदेशमा गरिएको छलफलमा सुझाव सबै किसिमको आएकाले उच्च स्तरीय अनुगमन समितिको निर्देशन अनुसार मन्त्रालय अघि बढ्ने उहाँको भनाई छ ।

विद्यालय बन्द जति लम्बियो त्यति नै विद्यार्थीको सिकाई प्रभावित हुने देखिन्छ । संक्रमणको जोखिमलाई आंकलन गरेर सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिने विज्ञहरुले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे बालबालिकामा कोरोना महामारीको जोखिम उच्च रहेकाले हतार नगर्न सुझाउनुहुन्छ ।

पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या घटे पनि जोखिम नघटेको विज्ञहरुको भनाई छ । मनोवैज्ञानिक रुपमा अहिले पनि कोरोनाको त्रास कायमै छ । विद्यार्थीहरुको विद्यालयसंग संलग्नता पनि कम भएका बेला सावधानी अपनाएर कम जोखिम रहेका स्थानमा विद्यालय खुलाउन सकिने तर्फ अभिभावकले पनि संकेत गरेका छन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी चरणबद्ध रुपमा विद्यालय खुलाउन सकिने बताउनुहुन्छ ।

मूलुकभर ४ हजार ५ सय २२ विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । ती विद्यालयमा कक्षा सञ्चालन गर्दा पनि स्वास्थ्य सतर्कता तर्फ ध्यान दिन विज्ञहरुले सुझाएका छन् । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता त्यसै पनि कम हुने भएकाले कोभिड १९ को जोखिम उच्च हुने गरेको सर्वविदितै छ । यस कारण पनि महामारीको चपेटाबाट बालबालिकालाई जोगाउन हतार नगरी सबै पक्षलाई ध्यानमा राखेर विद्यालय खुलाउनु उपयुक्त होला । अन्यथा अहिलेकै जस्तो बैकल्पिक सिकाईको मेलोको रुपमा रहेका भर्चुअल कक्षाको निरन्तरताले उत्पादन हुने विद्यार्थीहरु पनि कमसल नहोलान् भन्न सकिन्न । जीवन सिक्नका लागि विद्यालयको बिकल्प धेरै होलान् तर पाठ्यक्रममा आधारित पढाइमा विद्यालयको बिकल्प कम्तिमा नेपालजस्तो मुलुकमा अरु अझै देखिएको छैन । 


प्रतिक्रिया