पोखरामा प्रदेश प्रहरीको अस्पताल सञ्चालन

श्रावण ४, २०७७ | पोखरा

गण्डकी प्रदेश प्रहरीको आफ्नै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ । आइतबारदेखि पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित अस्पतालबाट सेवा सुरु गरेको हो । प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा सुरु गरिएको प्रदेश प्रहरीका सूचना अधिकारी डीएसपी राजेन्द्र रेग्मीले बताउनुभयो । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) घनश्याम अर्यालले एक कार्यक्रमकाबीच सो अस्पतालको उद्घाटन गर्नुभयो । सो अस्पतालमा प्रहरी कर्मचारी, तीनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीले सेवा पाउने छन् ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंबाट प्रदान भईरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उद्देश्यले २०७४ चैत १७ मा भवनको शिलन्यास गरिएको थियो । २०७६ असोज ७ को मन्त्रिपरिषद्को बैठकले २१ जना प्राविधिक सहित ४१ जनाको दरबन्दी रहने निर्णय गरेको थियो । यसभन्दा अघि गणबाट सामान्य सेवा दिंदै आएको थियो । जहाँ ७ जना कर्मचारी थिए ।

‘तत्काल अर्को व्यवस्था नभएसम्म पुरानै दरबन्दीका कर्मचारीले सेवा दिने कुरा भएको छ’ डीएसपी रेग्मीले भन्नुभयो, ‘केही समयमा दरबन्दी अनुसार आवश्यक कर्मचारी आउनुहुन्छ ।’ ११ सय ६ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको भवन २८ लाख २३ हजार लागतमा निर्माण भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायब उपरीक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओपीडी सहित वार्ड ल्याब र फार्मेसी सेवा दिंदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग लगायतका अन्य सेवाहरु प्रदान गरिने बताउनुभयो । 

डीआइजी अर्यालले प्रहरी कर्मचारीलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरी २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंको स्थापना गर्ने तत्कालीन प्रहरी महानरीक्षक स्वर्गीय डी.बी. लामालाई स्मरण गर्दै यस अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारी स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । 

गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरी महत्वपूर्ण सुविधासहित अस्पताल निर्माण गरिएको बताउनुभयो । 


प्रतिक्रिया