कोभिड बढेको भन्दै सतर्कता अपनाउन विज्ञको आग्रह

चैत्र ३, २०८०

पछिल्लो समय कोभिड १९ संक्रमण बढेको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसम परिवर्तन भएसंगै इन्फ्लुएन्जाको जस्तै लक्षण देखिए पनि अस्पताल आएका बिरामीमा कोभिड संक्रमण पुष्टि भएको भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका हुन् । काठमाण्डौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले रेडियो कान्तिपुरसंग कुरा गर्दै उपचारमा आएका बिरामीमा कोभिड १९ संक्रमण पुष्टि हुने गरेको बताउनुभयो । 

उहांका अनुसार फ्लु र कोभिड १९ संक्रमणको लक्षण उस्तै हुने गरेकाले धेरैले सामान्य रुघाखोकी भनेर बेवास्ता गर्ने गरेका छन् । पछिल्लो केही साता यता विद्यालयमा समेत शिक्षक, विद्यार्थी बिरामी पर्न थालेको र पठनपाठन समेत प्रभावित हुने गरेको छ । रुघाखोकीलाई सामान्य रुपमा लिएर बस्नेको संख्या धेरै रहेकाले कोभिड १९ संक्रमणको अनुमानित संख्या धेरै हुन सक्ने पुनको भनाई छ । पछिल्लो समय ओमिक्रोनको जेएन डट वान सक्रिय रहेकाले सामाजिक दुरी कायम राख्न, साबुन पानीले हात धुन र मास्क अनिवार्य लगाउन उहांले आग्रह समेत गर्नुभयो । 


प्रतिक्रिया