पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु, नौ बिरामी
चैत्र १९, २०८० | पाल्पा
पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् ।
रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको वडा नम्बर–६ का सचिव हुमबहादुर कुँवरले जानकारी दिनुभयो । उनको शुक्रबार घरमै मृत्यु भएको हो ।
पट्वाचौरका टीकाराम बुढाथोकीको परिवारका सबैलाई झाडापखाला भएको थियो । उनकी श्रीमती, दुई छोरी, तीन छोरालाई झाडापखाला लागेको थियो ।
५ जनालाई मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो भने दुई जना उपचारपछि घर फर्केका छन् । गाउँकै पदमबहादुर जोगी कुँवरको घरमा दुई जना र सीता कुँवर पनि झाडापखालाबाट थलिएको वडा सचिव कुँवरको भनाई छ ।
सीताको लुम्बिनी मेडिकल कलेज र पदमबहादुरको परिवारलाई मिसन अस्पतालमा उपचार गरिएको छ ।
जुठापौवा स्वास्थ्य चौकीका प्रमुख ऋषभ पाण्डेयको टोली गाउँमा पुगेर झाडापखाला फैलिनुको कारण खोजी गरेको र उपचारमा सघाएको छ ।
स्थानीयका अनुसार गाउँमै मृत्यु संस्कार अन्तर्गत ४५ दिनको उम्किनेमा खाना खाएपछि उनीहरु बिरामी परेका हुन् ।
घरमा बालबालिकलाई पहिला झाडापखाला फैलिएको र पछि परिवारका अन्य सदस्य पनि बिरामी परेको स्थानीयले बताए ।