नरवणेको नेपाल भ्रमण : सम्बन्ध सुधार कि परम्पराको निरन्तरता

कार्तिक १७, २०७७ | काठमाडौं

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको सम्पूर्ण तयारी पूरा भएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारीक निमन्त्रणामा नरवणे चार सदस्यीय भ्रमण दलका साथ बुधबार काठमाडौं आइपुग्ने छन् । 

मूलत: नरवणे नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्न आउन लागेका हुन् । प्रधानसेनापति थापाले भारतीय सेनाको मानार्थ महारथीको पदवी गत वर्ष नै ग्रहण गरिसकेका छन् । तर, नेपाल भ्रमणको क्रममा नरवणेले उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ । 

नेपाल भ्रमणको क्रममा नेपाली सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता समेत गर्नेछन् । लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवादले दुई देशबीको सम्बन्धमा चिसोपन आएकै समयमा भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणलाई बढो महत्वका साथ हेरिएको छ ।

अतिथिको सत्कार गर्ने नेपाली चलन नै हो । सबै मनोमालिन्यलाई थाँती राखेर पनि अतिथि देवो भव: भन्न नेपाली मनले छाड्दैन चाहे पाहुनाको आगमन कुबेला नै किन नहोस् । परम्परा पुरानै भएपनि भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण शुभ साइतमा भएको छैन । 

विगतमा भारतको राष्ट्रिय राइफल बटालियनको कमाण्डर रहिसकेका नरवणेको नेपाल भ्रमणको छुक बिग्रनुमा उनी स्वयं नै कारक हुन् । नेपालले कसैको इसारामा सीमाको मुद्दा उठाएको भनेर अभिब्यक्ति दिएपछि नरवणेले कूटनीतिक मर्यादा त्यागेको मात्रै चर्चा भएन उनको अभिष्टबारे पनि नेपालमा टीकाटिप्पणी भयो । 

नरवणेको विवादास्पद अभिव्यक्तिकै कारण पनि उनको भ्रमणमा केही ढिलाइ भएको हो । दुई देशबीचमा राम्रोसँग संवाद नभइरहेको समयमा नरवणेको भ्रमणले संवादको द्वारलाई खुला गर्ने विश्लेषण पनि भईरहेको छ–राजनीति र कूटनितिक वृतमा । तर, पूर्व रक्षामन्त्री एवं सत्तारुढ नेकपाका नेत भीम रावलको तर्क भने फरक छ । भारतीय सेना प्रमुख नरवणेको भ्रमण संविधान र नेपाली जनताको स्वाधीनता र स्वाभिमानविरुद्ध भएको टिप्पणी गर्छन् । दुई देशका सेना प्रमुखहरुले लिने महारथीको पदवीको प्रचलन समेत हटाउनुपर्ने रावलको तर्क छ ।

नेपालको परराष्ट्र नीतिमा सैन्य कूटनीतिको योगदान जंगबहादर राणाको पालादेखि नै हो । नरवणेको यो भ्रमणले दुई पक्षीय सैन्य सम्बन्धलाई अझ सुदृढ गर्नका लागि भूमिका खेल्छ नै । सुरक्षा र कूटनीतिक विज्ञ गेजा शर्मा वाग्ले नरवणेको नेपाल भ्रमणलाई नियमित र पारस्परिक भन्छन् । २ साताअघि रअ प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भनिएको छ । रअ प्रमुखको भ्रमणका क्रममा भारतलाई ओलीको सन्देश के थियो, त्यसको सुइँको भारतीय सेना प्रमुखबाट पाउने भएकाले पनि यो भ्रमण अर्थपूर्ण हुने ठान्छन् वाग्ले । तर, सीमा विवाद भने कूटनीतिक र राजनीतिक रुपमै समाधान हुनुपर्ने उनी सुझाउँछन् ।

सेना प्रमुखसँग त सैन्य मामिलामा मात्र वार्ता हुन्छ । त्यसैले पनि नरवणेलाई पठाएर भारतले कूटनीतिक रुपमा रामै संकेत दिएको छ । उच्चस्तरीय कूटनीतिक भ्रमण नगराएर भारतले सेनाध्यक्षलाई पठाउनुको पनि अर्थ छ । तर, कूटनीतिक मामिलाका जानकार उद्धब प्याकुलेको बुझाईमा गुप्तचर र सैन्य संवादले दुई देशबीचको समस्या समाधानमा निर्णायक भूमिका नखेल्ने बताउँछन् । 

भ्रमणले दुई देशबीचमा चिसिएको सम्बन्धमा न्यानोपन ल्याएपनि सीमा विवाद समाधान कूटनीतिक र राजनीतिक तवरबाटै हुनुपर्ने र त्यसका लागि सरकार आफै चनाखो हुनुपर्ने प्याकुरेल बताउँछन् । दुई देशका सेनाबीचमा सम्बन्ध लामो समयदेखि सौहाद्रपूर्ण र भाईचाराको छ । सेना–सेनाबीचको सम्बन्धमा नेपाल कहिले पनि चुकेको छैन र त भारतीय सेनाले नेपाली सेनालाई धेरै विश्वास गर्छ ।

भारतीय सेना प्रमुख नरवणेले विवादास्पद अभिव्यक्ति दिएसँगै नेपाली सेनाले पनि जवाफ फर्काउनुपर्ने माग जनस्तरमा उठ्दा पनि प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘सुझबुझ’पूर्ण टिप्पणी गरे र समस्यालाई थप जटिलतातर्फ धकेल्नबाट जोगाएको चर्चा सुरक्षा वृत्तमा चलेको छ । त्यसैले होला नेपाली सेनाले पनि नरवणेको नेपाल भ्रमणलाई परम्पराको निरन्तरता भनेको छ । 

नरवणेको भ्रमणले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताउँछन् सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्ेल । बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान नरवणेको भ्रमणलाई सम्बन्ध सुधारको अस्त्र भएको तर्क गर्छन् । सीमा विवादले चिसिएको सम्बन्ध यस्तै पारम्परिक भ्रमणबाट सुध्रिने आशा उनको छ ।

सेना प्रमुख दुई देशको सीमा विवादबारे कुरा गर्ने आधिकारिक व्यक्ति पनि होइनन् । तर, नरवणेको भ्रमणले नेपाल सरकार र यहाँका राजनीतिक दलको धारणालाई भारतको उच्च राजनीतिक तहमा पुर्‍याउन सेतु बन्न सक्छन् । यसले एउटा राजनीतिक माहोल र दुई देशबीच विश्वासको वातावरण मात्रै बनाउन सक्छ । 

सीमा अतिक्रमणको मुद्दा उठेपछि रोटी बेटीको सम्बन्ध भएको मुलुकबीच जुनस्तरको तिक्तता आएको छ । यसको निरुपण पनि उच्चस्तरीय संयन्त्रबाटै भएमात्रै त्यो दिगो हुनसक्छ । किनभने रोटी पकाउन ताप्के तात्नुपर्छ बिंडमात्रै ताते त हात पोल्ने डर हुन्छ ।


प्रतिक्रिया