कांग्रेस र देउवाले पाएको अवसर

माघ १२, २०७७ | काठमाडौं

प्रतिनिधि सभा विघटन गर्ने कदमपछि नेपाली राजनीतिमा कोही सर्वाधिक आलोचित छ भने त्यो प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ । कर्मको फल कर्ताले नै पाउने हो त्यस हिसाबले यसलाई स्वभाविक मान्न सकिन्छ । तर, प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आफ्नै पार्टीभित्रबाट आलोचित हुनुहुन्छ । यो चाहिँ अलि बुझिनसक्नुको छ । 

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीको निर्णयविरुद्ध आन्दोलन गर्दा पनि उहाँलाई धर छैन । र, सो विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले पर्ख र हेरमा बसौं भन्दा पनि देउवालाई सुख छैन । ज्योतिषीले उहाँलाई सात चोटि प्रधानमन्त्री भविष्यवाणी गरेपनि नेपाली राजनीतिमा उहाँ सबैभन्दा अपजसे नेता हुनुहुन्छ ।

प्रतिनिधि सभा भंग गरेर ताजा जनादेशमा जाने निर्णय हुँदा गभरमेन्ट ईन वेटिङ कांग्रेसले दु:ख मनाउनुपर्ने कुनै कारण थिएन । अझ, सरकार आफ्नै कारणले अलोकप्रिय भइरहेको र नेकपा आन्तरिक रडाकोको उत्कर्षमा भएका बेला चुनावको घोषणा हुँदा प्रतिपक्षीलाई त हानी भन्दा लाभ नै धेरै हुने हो । भलै, यो कदम लोकतान्त्रिक थियो कि थिएन वा यसले लोकतन्त्रका अवयवलाई अस्तव्यस्त तुल्याउँथ्यो कि तुल्याउँथेन भन्ने बारे छुट्टै बहस गर्न सकिन्छ । 

चुनावमा जाने कुरा जहिले पनि प्रतिपक्षीका लागि स्ट्रेन्थ नै हो । अझ कांग्रेस जो अघिल्लो चुनावमा प्रतिपक्षी त्यसमा पनि अत्यन्त कमजोर कित्तामा हुत्तिएको थियो, उसलाई आफ्नो स्थान सुधार गर्ने र सत्तारोहणका लागि यो एउटा प्रबल मौका हुन्थ्यो नै । लोकतान्त्रिक पार्टीले चुनावमा जान डराउन हुन्न भन्ने देउवाको अडानमा दम छ । कांग्रेसलाई फेरि एक नं १ को पार्टी बनाऔं भन्ने देउवाको चाहना आफैंमा नराम्रो पनि हैन प्रतिपक्षी दलको कोणबाट हेर्दा । 

प्रधानमन्त्री ओलीले आफू हार्दैछु भन्ने चुनाव गराउनु हुन्छ कि हुन्न भन्ने प्रश्न बरु यक्ष हो । कांग्रेसले राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा भएको स्थानीय चुनाव बाहेक अरु कुनै पनि चुनाव बहिस्कार नगरेको सन्र्दभमा बैशाख १७ र २७ मा घोषित मध्यावधिमा जान्छु भन्नु असान्दिर्भक थिएन र छैन । जसले जे भनेपनि देउवा मुलुकको राजनीति कता लाग्छ भनेर लख काट्न सिपालु नेता हुनुहुन्छ । 

अघिल्लो चुनाव अघि उहाँले मुलुकमा कम्युनिष्टहरुले दुई तिहाई मत पाए रुन समेत नपाइने बताउनु भएको थियो । उहाँको सो कुरालाई धेरैले उडाए । तर, अहिले मुलुकको अवस्था हेर्दा रुनु न हाँस्नुकै छ । कांग्रेसभित्र प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने र पुष्पकमल दाहाल अनि माधव नेपाल समूहलाई सघाउनुपर्ने मत बलियो भईरहँदा देउवाले नेकपा औपचारिक रुपमा फुटिनसकेको भन्दै पहिले औपचारिक रुपमा नेकपा विभाजन भएको निर्णय आउन पर्ने अडान राख्नुभएको थियो । नेकपा आधिकारिकता विवादमा निर्वाचन आयोगको पछिल्लो निर्णयले पनि देउवाकै दृष्टिकोणलाई बल पुर्‍याएको छ ।

अघिल्लो संसदीय निर्वाचनमा हारको नमीठो स्वाद चाखे पनि कांग्रेस अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमै छ । सत्तारुढ नेकपाको विभाजनले सबैभन्दा बढी राजनीतिक लाभ हासिल गर्ने पनि नेपाली कांग्रेसले नै हो । अहिलेकै अवस्थामा पनि कतिपय प्रदेश सरकारको गठनमा कांग्रेस निर्णायक शक्ति नै छ । मुलुकको राजनीतिक अवस्थामा अकल्पनीय परिवर्तन नभए आउने निर्वाचनमा नेपाली कांग्रेस कमसेकम संसद्को सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा उपस्थित हुनेमा कुनै द्विविधा छैन । यसको प्रमुख कारण भनेको नेकपाभित्रको आन्तरिक किचलो नै हो । 

कांग्रेस बलियो प्रतिपक्षी नहुँदा पनि नेकपाभित्रको शक्तिले बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्‍यो । देउवाले यी कदम बुझेर चाल्नु भएको हो भने उहाँले एक हदको दूरदर्शिता नै देखाउनु भएको हो । कांग्रेसका प्रधानमन्त्रीले संसद भंग गरेको भए र प्रतिपक्षीमा कम्युनिष्ट शक्ति भएका भए यतिखेर मुलुकका कैयन् शहरका रेलिङ भाँचिइसकेका हुन्थे । मुलुक ठप्प र अस्तव्यस्त भईसकेको हुन्थ्यो । त्यस अर्थमा सभापति देउवाको कदम लोकप्रिय भएन होला तर गैर राजनीतिक चरित्रको र गैरजिम्मेवार छैन । 

देउवाले पार्टीलाई राम्रो तुल्याउन सक्नु भएन होला तर नराम्रो बनाउन भएन । सत्तारुढ दलका नेताले कांग्रेसलाई प्रजापरिषद् भनेर हेयको दृष्टिले पुकार्दा र देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भनेर हुँकार गर्दा पनि त्यसमा प्रतिक्रियात्मक हुनु भन्दा रक्षात्मक हुने उहाँको कदमकै कारण अहिले कांग्रेसको अनुकूल समय आएको हो । तर, अहिले संसद् पुन:स्थापना नहुँदा या ओलीको कदम नसच्चिँदा पनि लोकतन्त्र बच्छ भन्ने भ्रममा उहाँ रहन पाउनुुहुन्न । 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा दबाब नदिने देउवाको नीति ठीक भएपनि त्यसैको निहुँमा प्रतिगमनविरुद्धको आन्दोलनलाई कमजोर बनाउनेहरुलाई फाइदा पुग्नेतर्फ भने उहाँ सचेत हुनैपर्छ । कारण उहाँ नेपाली कांग्रेसको सभापति हो र लोकतन्त्रको रक्षा गर्ने अभिभारा पनि त्यसैको हैसियतामा देउवालाई प्राप्त छ । 


प्रतिक्रिया