काठमाडौंमा माओवादीको जनमत खस्किदै, एउटै पालिकामा प्रमुख जित्न सकेन

जेष्ठ १६, २०७९ | काठमाडौं

स्थानीय तह निर्वाचनमा सत्तारुढ माओवादी केन्द्र तेस्रो ठूलो शक्ति बनेको छ । तर विगतको तुलनामा बढी पालिका जितेको माओवादी केन्द्र काठमाडौं उपत्यकामा भने कमजोर देखिएको छ । उसले काठमाडौं उपत्यकाका कुनै पनि पालिकामा प्रमुख पद जित्न सकेन भने अघिल्लो पटकको तुलनामा कम जनप्रतिनिधि पाएको छ । फितलो संगठन र पार्टीभित्रको विवाद लगायतले गर्दा काठमाडौंमा माओवादीको जनाधार थप कमजोर बन्दै गएको प्रस्ट भएको छ ।

माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकाभित्र ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्ष जितेको थियो । तर यो पटक भने माओवादीले काठमाडौं उपत्यकामा कुनै पनि पालिकामा प्रमुख पद जित्न सकेन । त्यसो त अघिल्लो पटकको तुलनामा माओवादीले वडाध्यक्ष र वडा सदस्य पनि कम जितेको छ । अघिल्लो पटक १३ वटा वडाध्यक्ष भएकोमा यो पटक उपत्यकाका जम्मा १२ वटा वडामा मात्र माओवादीले अध्यक्ष जितेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको २ र ५ नम्बर वडा, संखरापुर नगरपालिकाको वडा १, ललितपुरको कोन्ज्योसोम गाउंपालिकाको वडा १ र ५, गोदावरी नगरपालिकाको वडा ३ र ८, वागमती गाउँपालिकाको वडा ५, महालक्ष्मी नगरपालिका वडा ६ र ललितपुर महानगरपालिकाको वडा २१, २६ र २७ मा माओवादी केन्द्रले जित हासिल गरेको हो । अघिल्लो पटक ४२ वडा सदस्य जितेको माओवादीले यो पटक ३३ वटा वडा सदस्य मात्र जित्न सक्यो । यो तथ्याङकले उपत्यकामा माओवादीको जनमत घट्दै गएको देखिन्छ । काठमाडौंमा जनाधार कम हुँदै जानुमा माओवादी स्वयम्ले विभिन्न कारण मानेको छ ।

काठमाडौं उपत्यकासंगै जोडिएका जिल्लामा भने माओवादी केन्द्रले सम्मान जनक उपस्थिति देखाएको छ । नुवाकोटको १२ पालिका मध्ये ४ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । त्यस्तै, ७ वटा पालिकाको उपाध्यक्ष आफ्नो पक्षमा पारेको छ । सिन्धुपाल्चोकमा ४ वटा पालिकामा प्रमुख तथा अध्यक्ष पदमा जित हात पारेको छ । काभ्रे, मकवानपुर तथा धादिङका ७ सात पालिकामा प्रमुख तथा अध्यक्ष र उप प्रमुख तथा उपाध्यक्षमा आफ्नो स्थान सुरक्षित गरेको छ । काठमाडौं उपत्यकाको हकमा भने ललितपुरको वागमती गाउँपालिकाका उपाध्यक्ष र मध्यपुर थिमी नगरपालिकाको उपप्रमुख जित्नु माओवादीको सफलता रह्यो । माओवादी नेतृ रुपा महर्जनले महानगरमा गठबन्धन सहित अघि बढेपनि अन्य पालिकामा एक्लै प्रतिस्पर्धा गरेकाले नतिजा आफूहरुले सोचेजस्तो नभएको बताइन् ।

चुनावी तालमेल गरिएको ललितपुर महानगरमा समेत माओवादी केन्द्रलाई फाइदा भएको देखिदैन । सत्तागठबन्धनका तर्फबाट ललितपुर महानगरको उप प्रमुखमा उम्मेदवारी दिए पनि मतपरिणामका आधारमा स्थानीयको रोजाई माओवादी बन्न सकेन् । यस्तो अवस्थामा पार्टीमा गम्भिर समिक्षाको आवश्यकता रहेको माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री बताउँछन् । स्थानीय तहको निर्वाचनमा मात्र होइन संघीय निर्वाचनमा समेत माओवादी केन्द्रले उपत्यकामा आफ्नो प्रभाव गुमाउंदै गएको हो । संविधानसभाको पहिलो निर्वाचनमा उपत्यकाका १५ वटा निर्वाचन क्षेत्र मध्ये माओवादी केन्द्र ७ वटा क्षेत्रमा विजय भएको थियो । सो संगै हालको संसदसम्म आइपुग्दा ललितपुरको क्षेत्र नं ३ बाट मात्र माओवादीको प्रतिनिधित्व छ । शहरी क्षेत्रमा यसरी घट्दो प्रभाव बढाउन पार्टी योजनावद्ध रुपमा अघि बढ्ने नेता सहयात्रील बताए ।

विद्रोहको बाटो छाडेर मूलधारको राजनीतिमा आएपछि पटक पटक सरकारमा सहभागी भएपनि काठमाडौंको जनमत माओवादीको विपक्षमा रहेको निर्वाचनहरुले पुष्टि गरेका छन् । फितलो संगठनसँगै राष्ट्रिय राजनीतिमा खेलेका कतिपय भूमिकाले काठमाडौंको जनमत माओवादीसँग आर्कषित नभएको देखिएको छ । यो अवस्थामा माओवादीले काठमाडौं उपत्यकामा आफ्नो साखलाई क्रमश गुमाउँदै जाने निश्चित छ । 


प्रतिक्रिया