अन्तर्राष्ट्रिय ख्याति कमाएको नेपाली क्रिकेट विवादको भूमरीमा फस्दै

फाइल फोटो 

माघ ३, २०७९ | काठमाडौं

नेपाली क्रिकेटले आठ वर्ष अघि सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्दै विश्वसामु आफूलाई प्रस्तुत गरेको थियो । त्यस्तै, समय क्रममा नेपालले वान डे मान्यता समेत पायो । तर आन्तरिक विवादका कारण क्रिकेटको व्यवस्थापकीय निकाय नेपाल क्रिकेट संघ आइसीसीको निलम्वनमा परेपछि नेपाली क्रिकेटमाथि नकारात्मक प्रभाव पारेको थियो । निलम्वन फुकुवासँगै नेपाली क्रिकेटले गति लिने अपेक्षाबीच गत महिना काठमाडौंमा आयोजित टी–ट्वान्टी लिगका दौरान देखिएको विवादले यतिखेर नेपालको छवि नै धमिलिने जोखिम बढाएको छ ।

नेपाली क्रिकेटमा पछिल्लो समय विवादको शृङखला बढ्न थालेका छन् । नेपालमा पहिलो पटक डबल राउण्डका आधारमा आयोजना भएको नेपाल टी–ट्वान्टी लिग विवादको केन्द्रमा रहेर गत साता सम्पन्न झएको छ । क्रिकेटसँग सम्वद्ध व्यत्तिहरुका अनुसार बेटिङ, स्पट फिक्सिङ, म्याच फिक्सिङ, पारिश्रमिक विवाद र आयोजकमध्ये एक पक्ष फरार हुने जस्ता घटनाको साक्षी टि–ट्वान्टी लिग भयो । ती घटनाले गर्दा नेपाली क्रिकेटको छवि धूमिल भएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एल.बी क्षेक्रीले चिन्ता व्यत्त गरे ।

विश्वका उत्कृष्ट खेलाडीहरु जिम्बावेका सिकन्दर राजादेखि इंग्ल्यान्डका एलेक्स ब्लेक, प्याट ब्राउन, मलेसियाका वीरनद्वीप सिंह जस्ता खेलाडीले नेपाली भूमिमा यहाँका खेलाडीसँगै प्रतिस्पर्धा गर्दा नेपाली क्रिकेटका लागि सकारात्मक सन्देश दिने र प्रतियोगितामा रौनक थप्ने अपेक्षा थियो । तर यी अनपेक्षित घटनाक्रमसँगै ती खेलाडी प्रतियोगिताको बीचमै लिग छोडेर फर्किनुपर्‍यो । राम्रो फ्रेन्चाइज प्रतियोगिता भनेर चर्चा कमाएको नेपाल टी–ट्वान्टी लिगका लागि त्यो अर्को एउटा दुःखद पक्ष हुन पुग्यो । कमर्सियल एन्ड स्ट्राटेजिक पार्टनरका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर वार्षिक ४ करोड रुपैयाँजति दस्तुरबापत आउने भएपछि क्यान आफू मुख्य आयोजकभन्दा पनि ‘सेरेमोनियल’ को भूमिकामा सीमित हुन पुग्दा नेपाली क्रिकेटलाई ठूलो क्षति भएको टिप्पणी भइरहेका छन् ।

 त्यसो त सेभेन थ्री स्पोर्ट्स भित्रिने बित्तिकै नेपाल टी–ट्वान्टी लिग विवादमा मुछिएको थियो । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दै क्यानले बिना टेन्डर भारतीय कम्पनीलाई साझेदार बनाएको थियो । क्यानभित्रकै एउटा समूहले त्यसविरुद्ध आवाज नउठाएको होइन तर त्यसलाई वेवास्ता गरियो । टी–ट्वान्टीमा उत्पन्न विवाद र समस्यालाई लिएर क्रिकेट संघ क्यानको व्यापक आलोचना भइरहेको छ । क्रिकेट संघका अध्यक्ष चतुरवहादुर चन्द भने कमजोरी भएपनि ठूलो अपराध भने आफूहरुबाट नभएको तर्क गर्छन् ।

फिक्सिङ कुनै पनि खेलकुदमा अक्षम्य अपराध हो । नेपाल टी–ट्वान्टी लिगमा फिक्सिङ भइरहेको भन्ने आधारहरु थुप्रै देखिए, दर्जनौं उजुरीहरु परे । स्वयम् राष्ट्रिय टीमका कप्तान भइसकेका खेलाडीले पनि यसबारे बोले । मैदानको यो विवाद सिंहदरबारको चासो बन्न पुग्यो । खेलाडीको पारिश्रमिक र व्यवस्थापनको जिम्मा लिएकाहरु देश छाडेर वेपत्ता भए । भनिन्छ, क्रिकेट भलादमीको खेल हो तर यो पटक त्यसो हुन सकेन । फिक्सिङ काण्डपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नेपाल आएर छानबिन गरीवरी फर्किएको छ । गृह मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् राखेपले समेत छुट्टाछुट्टै छानबिन समिति बनाएका छन्, भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी–२० लिगको घटना विवरण एक साताभित्र बुझाउन राखेपलाई निर्देशन दिएको छ ।

भन्न त आईसीसीले म्याच फिक्सिङ, बेटिङ र स्पट फिक्सिङमा शून्य सहनशीलता अपनाउने गरेको भनिएको छ । तर त्यसको कार्यन्वयनलाई लिएर प्रश्न उठ्ने गरेका छन् । टी–टवन्टी लिगमा देखिएका विवादको सन्दर्भमा क्रिकेट जानकारहरुले नेपालका निकायहरूले यस्ता बिषयमा बढी गम्भीर हुनुपर्ने क्रिकेट जानकार विनोद पाण्डेको भनाई छ ।

नेपाल सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको एसोसिएट सदस्य बन्यो । नेपाल सन् २००१, २०१४ र २०१८ मा आईसीसी विश्वकपमा छनोट भएको थियो । यस्तै, सन् २००४ र २००५ मा आईसीसी एन्टरकन्टिनेन्टल कप, एसीसी फास्ट ट्रयाक कन्ट्रीज टूर्नामेन्टमा नेपाल सहभागी थियो । सन् २००९, २०११ र २०१३ मा एसियाली खेलहरु खेलेको नेपालले सन् २०१० र २०१४ मा एसीसी प्रिमियर लिग खेलेको थियो । 

सन् २०१४ मा नेपालले टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेपछि नेपाली क्रिकेटले राम्रै उडान भर्ने अनुमान गरिएको थियो । तर ठिक विपरित क्यान आईसीसीको निलम्बनमा पर्‍यो । करिब साढे तीन बर्षको लामो संघर्षपछि क्यानको प्रतिबन्ध फुकुवा भयो र फेरी क्रिकेट सहि ट्रयाकमा आउने अपेक्षा गरियो । नेपाली क्रिकेटमा नयाँ नेतृत्व पनि आयो तर अवस्था फेरिएन । खेल र खेलाडीको भविश्य अनिश्चियमा धकेलिएको छ । जसले गर्दा कुनै बेला कमाएको ख्याती विस्तारै बदनामीले घेरिन थालेको छ । 


प्रतिक्रिया