‘डेंगी रोकथामका लागि स्थानीय तह सक्रिय हुनुपर्छ’

असार ३०, २०८० | काठमाडौं

पछिल्लो समय डेंगी संक्रमित बढेसंगै पुनः स्वास्थ्य महामारी फैलिन सक्ने देखिएको छ । नेपालमा प्रत्येक २ देखि ३ वर्षको अन्तरालमा डेंगी संक्रमणले महामारीको रुप लिने गरेको छ । यसअघि २०७६ र २०७९ सालमा डेंगीले महामारीकै रुप लिएको थियो । संक्रमण जोखिम बढिरहेको अवस्थामा केही स्थानीय तहले डेंगी विरुद्ध कदम समेत चालेका छन् । यस्तो अवस्थामा सबै स्थानीय तह सक्रिय भएमा डेंगी संक्रमण नियन्त्रणमा आउन सक्ने विज्ञ बताउंँछन् ।

‘गत वर्ष पनि हामीले ठूलो प्रकोप बेहोर्यौं, त्यतिबेला कात्तिकको अन्तिमसम्म बिरामीहरु धेरै रिपोटिङ् भएको देखिन्छ । अब फेरि जोखिमको महिनामा हामी प्रवेश गरिसकेका छौं । असार लागेपछि सुनसरीको धरान उपमहानगरपालिका, केही संखुवासभा र दार्चुलाको पालिकामा बढी देखिएको छ । अन्यत्र केहीमा संक्रमण भएको रिपोर्ट प्राप्त भएको छ ।’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कीटजन्य रोग नियन्त्रण तथा रोकथाम शाखाका प्रमुख गोकर्ण दाहालले भने जस्तै, डेंगी संक्रमण बढ्ने क्रममा छ । गत वर्ष महामारीकै रुपमा फैलिएको डेंगी संक्रमण यो वर्ष पनि उकालो लाग्ने क्रममा छ । गत पुसदेखि हालसम्म देशभरमा १ हजार ५ सय जना भन्दा बढी व्यक्ति संक्रमित भएको मन्त्रालयको तथ्यांक छ । सामान्यतयः वर्षा सकिएपछि र जाडो महिना सुरु हुनु अघिको समयमा फैलिने डेंगी संक्रमण नियन्त्रण गर्न चुनौती देखिंदै आएको छ ।

डेंगी नियन्त्रणका लागि गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण काम भेक्टर उपाय पनि हो । जसअन्तर्गत डेंगी फैलाउने लामखुट्टेको प्रजनन केन्द्र पहिचान गरी लामखुट्टे नष्ट गरेर संक्रमण घटाउन सकिने विज्ञ बताउँछन् । सो प्रक्रिया अन्तर्गत पानी जमेका स्थानको नियमित अनुगमन र प्रभावित क्षेत्रमा धूवाँं प्रयोग गर्ने तथा लामखुट्टे धेरै भएका ठाउँमा कीटनाशक विषादी छर्कने कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने विज्ञको सुझाव छ । साथै, स्थानीय तहले लामखुट्टेको लार्भालाई नष्ट गर्न प्रभावकारी काम गर्न सक्छन् । संक्रमणरोग विशेषज्ञ डा. शेरबहादुर पुनले भन्नुभयो, ‘वडाभित्र वडाका कर्मचारीहरु गएर लार्भा खोजेर नष्ट गर्ने काम म सहज देख्दिन । उदाहरणका लागि मेरो घर वरपर कतै खाल्डाखुल्डी भएमा मैले नै त्यसलाई नष्ट गर्न सकें भने म जस्तै अर्को छिमेकीले, त्यसपछि अर्को छिमेकीले यसरी गर्न सकियो र त्यसलाई नेतृत्वदायी भूमिका वडा कार्यालयले गर्‍यो भने सहज हुन्छ ।’

भेक्टर नियन्त्रणको अतिरिक्त स्थानीय तहले दीर्घकालीन समाधानको रुपमा वातावरणीय व्यवस्थापनलाई समेत ध्यान दिनुपर्ने देखिएको छ । लामखुट्टेको प्रजनन् स्थललाई हटाउने सन्दर्भमा फोहोरको उचित व्यवस्थापन, नाली र पानी भण्डारण कन्टेनरको नियमित सफाई गर्नुपर्ने विज्ञहरुको सुझाव छ । त्यस्तै, स्वास्थ्य संस्था, स्थानीय प्रहरी, सरसफाइ कर्मचारी र सामुदायिक संस्थाका प्रतिनिधिको समेत सहभागीतामा कार्यदल गठन गरी संक्रमण नियन्त्रणको प्रयास गरिएमा महामारीको जोखिम नियन्त्रणमा आउने सक्ने डा. पुनको भनाई छ । ‘लामखुट्टे बिस्तारै बिस्तारित हुँदै गएको छ । कुनै समय तराईमा थियो । त्यसपछि पहाडी इलाकाहरु काठमाडौं लगायतका स्थानमा फैलिएको छ’, उहाँले भन्नुभयो, ‘यसलाई स्थानीय तहले नियन्त्रणमा ल्याउन सक्छ । आगामी दिनमा अझ ठूलो समस्या ल्याउँछ । अब लामखुट्टे नियन्त्रणका लागि कानूुन बनाऔं ।’

अहिले कतिपय स्थानीय तहले डेंगी संक्रमण रोकथाम र नियन्त्रणका उपायबारे सर्वसाधारणमा चेतना फैलाउन पहल गरिरहेका छन् । सामुदायिक रेडियो कार्यक्रम, सार्वजनिक सेवा घोषणा तथा सूचना र सन्देश प्रवाह जस्ता माध्यम मार्फत स्थानीय तहले व्यक्तिगत सरसफाइको महत्व, उचित फोहोर व्यवस्थापन, र लामखुट्टे प्रजनन् स्थलको उन्मूलनबारे जानकारी गराउने गरेका छन् । यी गतिविधिले घर र समुदायमा संक्रमण विरुद्धका कार्य गर्न प्रोत्साहन गर्ने स्थानीय तहका प्रतिनिधि बताउँंछन् ।

डेंगी विरुद्धको सचेतना अभियान प्रभावकारी बनाउन स्थानीय तहले स्वास्थ्यकर्मी, गैर–सरकारी संस्था लगायतसँग सहकार्य गरेका छन् । यस बाहेक, स्थानीय तहले विशेष गरी उच्च जोखिम क्षेत्रमा डेंगी रोकथामको लागि प्रत्यक्ष निर्देशन दिन स्वास्थ्य शिविर र कार्यशाला आयोजना गरेका छन् । ‘हरेक स्थानीय तहको स्वास्थ शाखा मार्फत डेंगी नियन्त्रण कार्यलाई अघि बढाएका छौं’, नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले भन्नुभयो ‘झाडीहरु सरसफाई गर्ने, पानी जमेका स्थानलाई पुर्ने र तेस्रो विपद् पनि भएको कारणले गर्दा आफ्नो साधन र स्रोत कसले दिन्छ भनेर पर्खिने होइन पहिलो कर्तव्य भनेको नागरिकहरुलाई जोगाउनु हो ।’

सिंगापुर, थाइल्याण्ड, ब्राजिल, मलेसिया, फिलिपिन्स लगायत मुलुकले डेंगी संक्रमण रोक्न कानूुनै बनाएर अघि बढेको पाइन्छ । डेंगी संक्रमण हुने किसिमका गतिविधि गर्ने कार्यलाई ती मुलुकमा अपराधको रुपमा हेर्ने गरिएको छ । नेपालमा सन्दर्भमा डेंगीको जोखिमलाई न्यूनिकरण गर्न संघ र स्थानीय तह दुवैले हात मिलाएर काम गर्न जरुरी छ । 


प्रतिक्रिया