चाडपर्वमा नयाँ नोटप्रतिको आकर्षण अझै पनि उस्तै, सही प्रयोगमा भने चुनौती

कार्तिक ९, २०८० | काठमाडौं

हरेक वर्ष महान् चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी करोडौंका नयाँ नोट सटही गर्ने गरिन्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् बजारमा पठाउने नयाँ नोट लिन सर्वसाधारणकोे घुँइचो लाग्ने गरेको छ । नयाँ नोटप्रतिको आकर्षण जति बढेको छ, त्यति नै चुनौती भने यसको सही प्रयोगमा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो समय औसतमा वार्षिक १ अर्ब ३४ करोड रुपैयाँ नयाँ नोट छापिएको छ । आर्थिक वर्ष ०७६÷७७ मा ५० रुपैयाँको नोट १३ करोड ४८ लाख थान, १ सय रुपैयाँको नोट १२ करोड थान र १ हजार रुपैयाँको नोट २ करोड ६० लाख थान छपाई भएको थियो ।

आर्थिक ०७७÷७८ मा ५ रुपैयाँको नोट ८ करोड थान, १० रुपैयाँको नोट ८ करोड थान, २० रुपैयाँको नोट १७ करोड थान, ५० रुपैयाँको नोट ८ करोड थान, १ सय रुपैयाँको नोट १२ करोड थान, र १ हजार रुपैयाँको नोट १३ करोड थान छपाई भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै आर्थिक वर्ष ०७८÷७९ मा ५ रुपैयाँको नोट १४ करोड २० लाख थान, १० रुपैयाँको नोट १३ करोड थान , २० रुपैयाँको नोट ७ करोड थान, ५० रुपैयाँको नोट ८ करोड थान, १ सय रुपैयाको नोट १६ करोड थान, ५ सय रुपैयाँकोे नोट १३ करोड थान र १ हजार रुपैयाँको नोट ११ करोड थान छपाई भएको थियो । बैंकले भारत, चीन र इन्डोनेसियामा नयाँ नोट छाप्दै आएको छ । त्यसरी छापिएका नोटहरु दसंैंसहितका चाडपर्वका लागि बजार पठाउने गरिएको छ । 

बैंकका अनुसार कम्तीमा तीन वर्षको लागि पुुग्ने गरी नयाँ नोटको छपाइ हुँदै आएको छ । दसैंको लागि मात्र लक्षित गरेर नयाँ नोट नछापीने राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन् । उनले भने,“करिब ३ देखि ५ वर्षको लागि कति नोट आवश्यक पर्छ भनेर सर्वप्रथम राष्ट्र बैंक अन्तगर्त आर्थिक अनुसन्धान विभाग तथा मुद्रा विभाग लगायत अन्य विभागले मुल्याङ्कन गर्छ, त्यसको लागि आर्थिक वृद्धिदर मुद्राको माग, पुरानो नोटको अवस्था तथा बजारमा कति नोट लैजान सकिन्छ भनेर ल्याङ्कन गरेपछि मात्र छपाई कार्य अघि बढ्छ ।”

नोट छपाइका लागि गर्भनर, डेपुुटी गर्भनर पुुरातत्वविद्, भाषाविद्, वन तथा वन्यजन्तुु क्षेत्रका विज्ञ लगायत सम्मिलित टोलीले नोटको डिजाइन सिफारिस गर्ने व्यवस्था छ । त्यस्तै, राष्ट्र बैंकले नोट बजारमा ल्याउनुु अघि त्यस बराबरको धरौटी राख्नुुपर्ने प्रावधान छ । “नोट छाप्ने भनेको एउटा वस्तुको रुपमा छापिने र आवश्यकता अनुसार ल्याएर राख्ने गरिन्छ । छपाई भएको नोट जारी गर्न कम्तीमा ५० प्रतिशत विदेशी मुद्रा, सुन लगायतका सामग्रीहरु राख्नुपर्ने व्यवस्था छ”, पोखरेलले भने ।

छापिएको नयाँ नोट राष्ट्र बैंकबाट विभिन्न प्रादेशिक कार्यलय, नेपाल बैंक तथा वाणिज्य बैंकहरुलाई वितरण गर्ने गरिएको छ । बैंकले यो वर्ष दसैं, तिहार र छठ पर्वमा गरी १२ देखि १५ अर्ब रुपैयाँको सटही हुने अनुमान गरेको छ । नयाँ नोटप्रति देखिएको आकर्षणसँगै यसको प्रयोग सही ढङ्गमा नभएको टिप्पणी समेत भएका छन् । चाडपर्व तथा पूजापाठका समयमा प्रयोग हुँदा अबिर, केशरी र तेल लगायत सामग्री पर्ने भएपछि नोट चाँडै बिग्रिने सम्भावना हुने सहप्रवक्ता पोखरेलको भनाई छ ।

राष्ट्र बैंकका अनुुसार नोट अनुुसार आयुु पनि फरक हुने गर्छ । १ सय रुपैयाँ मुुनिका नोटको सरदर आयुु ३ वर्ष हुुने गर्छ भने ठूलो नोटको सरदर आयुु ४ वर्ष हुुने गर्छ । प्रयोग गरिसकेका झुत्रा, मैला, च्यातिएका नोटहरु संकलन गरेर त्यसलाई राष्ट्र बैंकले नष्ट गर्दै आएको छ । राष्ट्र बैंकको तत्थ्याङ्क अनुसार आर्थिक वर्ष ०७६÷७७ मा ४८ अर्ब ६० करोड ४ लाख, ०७७÷७८ मा १२ अर्ब ४५ करोड ८१ लाख र ७८÷७९ मा चलनचल्तीमा पठाउन अयोग्य ४ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ बराबरका नोटहरु नष्ट गरिएको छ । नोटको जतनका लागि बैंकले सचेतनामूलक कार्यक्रम समेत गर्दै आएपनि प्रभावकारिता भने नदेखिएको बैंकका सहप्रवक्ता पोखरेल बताउँछन् ।उनले भने, “राष्ट्र बैंकले वित्तीय साक्षरता कार्यक्रम ल्याएपनि उदेश्य अनुरुप लाभ पुगेको छैन । सामाजिक सञ्जाल माफर्त सफा नोट नीतिको प्रचार–प्रसार गरेका छौँ ।”

डिजिटल कारोबार बढ्दै गएपनि राज्यले नोटको छपाइका लागि ठूलो धनराशी खर्च गर्दै आएको छ । एकातिर नयाँ नोट छपाई गर्नुपर्नेछ भने अर्कोतर्फ पुुरानो नोटको व्यवस्थापनको बाध्यता समेत छ । 


प्रतिक्रिया