क्रिकेटको घरेलु संरचना कमजोर हुँदा खेलाडी उत्पादनमा कठिनाई

मंसिर २६, २०८० | काठमाडौं

नेपालको १९ वर्षमुनिको क्रिकेट टोलीको इतिहास गर्विलो छ । युवा टोलीले टेष्ट मान्यताप्राप्त राष्ट्रलाई हराएको इतिहासका बीच वर्तमान आशालाग्दो छैन । युवा टोलीलाई राष्ट्रिय टोलीको ब्याकअपको रुपमा पनि हेरिन्छ । तर अहिले त्यहि युवा टोली धान्न सिनियर टोलीका खेलाडी समेट्नु पर्ने बेला आएको छ । खेलाडी उत्पादनको मुख्य जग भनेकै उमेर समूहका प्रतियोगिता हुन् । नेपालको घरेलु क्रिकेट संरचना नै कमजोर रहेकाले जग जस्तो घर पनि त्यस्तै हुनेमा कुनै द्विविधा छैन ।

एशिया कपमा पाकिस्तान र अफगानिस्तानसँग पराजित टोलीले आगामी पुष २८ देखि माघ २१ गतेसम्म दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट खेल्दैछ । एशिया कपको प्रदर्शनलाई आधार मान्ने हो भने विश्वकप नेपाली टोलीका लागि फलामको च्यूरा हुने देखिएको छ । टोलीमा सिनियर टिमका अलराउन्डर गुल्सन झा पनि छन् तर उनले पनि चामत्कारिक प्रदर्शन गर्न सकेका छैनन् । कुनै समय युवा टोलीको प्रदर्शनबाट राष्ट्रिय टोली दबाबमा हुन्थ्यो तर यसपटक अवस्था फेरिएको छ । सिनियर टिमले गरेको उत्कृष्ट प्रदर्शनको दबाब युवा टोलीमाथि परेको मुख्य प्रशिक्षक जगत टमाटा बताउँछन् ।

युवा खेलाडी उत्पादन र राष्ट्रिय टिमको बेन्च स्ट्रेन्थ बलियो बनाउन नेपालमा क्रिकेट एकेडेमीहरु संचालनमा छन् । ती एकेडेमीहरुको मुख्य उदेश्य भनेकै युवा खेलाडी उत्पादन गरेर राष्ट्रिय टिममा योगदान पु¥याउनु हो । नीजि क्षेत्रका केही क्रिकेट एकेडेमीले उमेर समुहका खेलाडी उत्पादनमा जोड पनि दिएका छन् । तर यो अपुग छ । यसका लागि नेपाली क्रिकेट हाँकिरहेको नेपाल क्रिकेट संघ क्यान नै अघि बढ्नुपर्छ । त्यसका लागि पहल भने भईरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्द बताए ।

नेपालमा उमेर समूहको क्रिकेट नै निकै कम हुन्छ । १२, १४ र १६ वर्षमुनिका प्रतियोगिता नभएको जुग भइसक्यो । यस्तोमा नयाँ खेलाडी उत्पादन आकाशको फल भएको छ । नीजिस्तरका प्रशिक्षण केन्द्रको प्रयास एक्लैले मात्र क्रिकेटमा नयाँ खेलाडी उत्पादनमा टेवा मिल्दैन । घरेलु क्रिकेटको मेरुदण्ड मानिएको क्रिकेट लिगलाई उमेर समूहसम्म विस्तार गर्न सकिएमात्रै यो सम्भव छ । त्यसका लागि क्रिकेट एकेडेमीहरु प्रशस्तै खुल्नुपर्छ । निजी स्तरका क्रिकेट एकेडेमी मात्र नभई क्रिकेटसँग क्यानले नै एकेडेमी संचालनमा ल्याउनुपर्ने ग्रेट हिमालयन क्रिकेट एकेडेमी संचालन गरिरहेका सुदिप शर्माको भनाई छ ।

सन् २०२३ नेपाली क्रिकेटका लागि विश्वकपमय रह्यो । टी–२० विश्वकपमा राष्ट्रिय टोलीले दोस्रोपटक सहभागिता जनाउने पक्का हुँदा, युवा टोली पनि युवा विश्वकपका लागि तयार छ । तर, समयक्रमसँगै नेपाली क्रिकेटमा नयाँ पालुवा नपलाउने हो भने पुरानो हाँगाबाट नयाँ पूmल र फलको आश गर्नु अतिशयोक्ति हुने देखिएको छ । युवामा क्रिकेटप्रतिको रुचि त बढेको छ तर त्यसलाई तिर्खान र व्यावसायिकतातर्फ ढाल्नका लागि हामीसँग न ठोस कार्ययोजना छ न त कुनै राष्ट्रिय एकेडेमी नै । 


प्रतिक्रिया