सत्तासाझेदार जसपा र जनमत विवाद; मधेश सरकार छाडेको जनमत के गर्दैछ ?

माघ १५, २०८० | काठमाडौं

मधेश प्रदेशमा सरकार गठनको एक वर्षपछि बाहिरीएको जनमत पार्टीले संघमा के गर्ने भन्नेबारे निर्णय गर्न बाँकी छ । सत्तारुढ गठबन्धनमा संलग्न भएदेखि नै असन्तुष्ट जनमतले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध उम्मेद्वार उठाएर आफ्नो असन्तुष्टिलाई ठोस तुल्याएको छ । सप्तरीस्थित मधेश कृषि विश्वविद्यालय शिलान्यासमा भएको घटनालाई लिएर प्रदेश सरकारबाट बाहिएको जनमतले सरकारविरुद्ध गर्ने भनेको आन्दोलनले कस्तो रुप लिने निश्चत छैन ।

तराई–मधेशमा मुख्य राजनीतिक थलो बनाएर केन्द्रीय राजनीतिमा स्थापित दलहरुबीच नै पछिल्लो समय टकटाव र तिक्तता उत्पन्न भएको छ ।त्यसको ज्वलन्त एउटा उदाहारण हो, सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालय शिलान्यासको क्रममा घटेको घटना । जनमत पार्टीको विरोधकाबीच जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वविद्यालयको शिलान्यास गरेपछि उत्पन्न विवादले प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवसहित प्रदेशसभा सदस्य र केही कार्यकर्ता सामान्य घाइते हुनपुगे ।

बिना जानकारी नै कार्यक्रम तय गरिएको भन्दै शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति एवं सिनेट अध्यक्ष समेत रहेका यादवले कार्यक्रम स्थगित गर्न विश्वविद्यालयलाई निर्देशन दिए । साथै कार्यक्रम रोक्न गृहमन्त्रालयलाई गरिएको पत्रचारको कुनै सुनुवाई नभएको तर्क गरेको जनमत सो घटना जसपाको निर्देशनमा केन्द्र र प्रदेश सरकारबाट भएको बताउँदै आएको छ । प्रदेश सरकारमा दुई मन्त्रीलाई फिर्ता बोलाएर बाहिरीएको जनमतले मधेशी जनतामाथि दमन, अत्याचार र विभेद गरिएको भन्दै बाहिरीएको जनमत पार्टी संसदीय दलका नेता एवं तत्कालिन शिक्षामन्त्री यादव बताउँछन् ।

जसपाका केही नेताहरुले शिलान्यासको घटनालाई राजनीतिक रुप दिएपनि केहीले भने सो घटनालाई दुखद भनेका छन् । विगतमागौर घटनाले तराई मधेशमा राजनीतिक थलो बनाएका दलहरुबीचको सम्बन्ध सुधार भइनसकेको अवस्थामा पछिल्लो घटनाले मधेश थप अशान्त हुने सङ्केत गरेको छ । विश्वविद्यालय शिलान्यासको अपनत्व कसले लिने विषयमा भएको विवाद र झडपले दुुई दलबीचको राजनीतिक सम्बन्ध समेत चिसिँदै गएको सहजै अनुमान गर्न सकिन्छ ।राजनीतिक तवरले मिलेर काम गर्ने सोचको विकास दलहरुमा नहुनु तथा काम कम आलोचनामा बढि केन्द्रीत हुने बानीले पनि मधेशमा दलहरुबीचको राजनीतिक सम्बन्धमा सुधार नभएको टिप्पणी जसपा नेतृ सुशिला श्रेष्ठको छ ।

तराई मधेशको राजनीति सधैं तरल रहन्छ भन्नेहरुका लागि भने पछिल्लो घटना एउटा राम्रो बहाना बनेको छ ।

जसपानेतृत्वमा गठन भएको मधेश सरकारमा जनमत सुरुदेखि असन्तुष्ट थियो । जसपा र जनमतले आधा–आधा कार्यकाल सरकार चलाउने तत्कालिन सहमतिपछि पनि जनमतले प्रदेश सरकारको आलोचनामा गर्दै आएको थियो । सरकारको एक वर्षको उपलब्धीबारे गरिएको पत्रकारसम्मेलनमा जनमतका कार्यकर्ताले सरकारभ्रष्टाचारमा डुबेको आरोप लगाए ।

सरकारको आलोचना गर्नेलाई सरकारमा बस्न नसुहाउने अभिव्यक्ति दिएपछि मुख्यमन्त्री सरोजकुमार यादव र जनमतका मन्त्रीहरुबीच सम्बन्धन चिसिँदै गएको थियो । विश्वविद्यालयमा जनमतका कार्यकर्ताले लगाएको तालाबन्दी बारे मुख्यमन्त्री यादवले सरकारमै बसेर सरकार विरोधी गतिविधि मान्य नहुने बताउँछन् ।

एमालेको समर्थनमा बनेको तत्कालिन गठबन्धनमा सहभागि भएपछि मधेशमा जसपाले सुरुमा सरकार चलाउने अवसर पाएको थियो । राष्ट्रपति चुनावका समयमा एमालेसहितको गठबन्धन भत्किएपछि ब्यूँतिएको कांग्रेससहितको गठबन्धनसरकारमा सहभागि जनमत मधेशमा दुई वर्ष सरकार चलाउने सहमतिमा पुगेको हो । मधेश प्रदेशमा जसपाले एक वर्ष, जनमत र कंग्रेसले दुई÷दुई वर्ष सरकार चलाउने सहमति गरेपनि सो सहमति पछिल्लो घटनासँगै तोडिएको छ । 

तर, सत्तागठबन्धनकै कारण मधेश सरकारको नेतृत्व गर्न नपाएको गुनासो जनमतको छ । केही दिनअघि जनमतका अध्यक्षडा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको कुर्षि संकटमा परेको संकेत देखिएपछि आफूहरुले मधेश सरकार बलिदानी दिनुपरेको अवस्था रहेको बताएका थिए ।

प्रधानमन्त्री पुष्कमल दाहाल नेतृत्वको सरकारमा मन्त्रालय बाँडफाँडलाई लिएर सुरुदेखि नै असन्तुष्ट जनमत उपराष्ट्रपतिको चुनाव र बाराको उपनिर्वाचनमा समेत गठबन्धनविरुद्ध उम्मेद्वारी दिएर विरोधको संकेत गरिरहेको थियो । यस्तै सत्ताघटक अन्य दल पनि जनमतको गतिविधिबाट सन्तुष्ट छैनन् ।केन्द्र सरकारबाट बाहिरीने निर्णयमा पुगिनसकेको जनमत मधेश सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएपनि कार्यक्रम भने सार्वजनिक गरेको छैन । यद्दपी कृृषि विश्वविद्यालयको घटनालाई लिएर दलबीचको विवाद नसुल्झिदाँ मधेश पुन अशान्त बन्ने अनुमान गर्न कठिन छैन । र, तराई मधेशको राजनीति सधैं तरल रहन्छ भन्नेहरुका लागि भने पछिल्लो घटना एउटा राम्रो बहाना बनेको छ । 


प्रतिक्रिया