सत्तायात्रा र गठबन्धनमा कांग्रेसका ६ वर्ष, सुखद क्षण र निराशा

फाल्गुन २४, २०८० | काठमाडौं

एमाले र माओवादी केन्द्रसहितका चार दलबीच नयाँ सत्ता समीकरण बनेसंँगै संसदकै ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षी कित्तामा पुगेको छ । अघिल्लो बर्ष पुष १० गते बनेको गठबन्धनलाई दुई महिनामै भत्काएर सत्तामा फर्किएको कंग्रेस एक बर्ष पछि फेरि प्रतिपक्षको वेञ्चमा धकेलिएको हो । विचार नमिल्ने राजनीतिक शक्तिसँग चुनावी तालमेल गरेको र तेस्रो दललाई प्रधानमन्त्री सुम्पिएको भनेर आलोचित कंग्रेसले नयाँ समीकरणलाई अविश्वसनिय कदम ठानेको छ । माओवादीसँगको सत्ता सहयात्रामा ब्रेक लाग्नुलाई कतिपय कंग्रेसजनले स्वभाविक मानेका छन् भने पार्टीकै कमजोरीका कारण गठबन्धन जोगाउन नसकिएको मत समेत कंग्रेसभित्र पाइन्छ । आखिर सत्ता गठबन्धनबाट कंग्रेस कसरी विमुख भयो र अबका दिन कंग्रेसको बाटो के हुन्छ भन्ने लगायत सवाल उत्पन्न भएका छन् ।

२०७४ सालको आमनिर्वाचनपछि अन्य दलले जस्तै कंग्रेसले पनि चुनावी गठबन्धन र सत्ता सहकार्यमा सुखद क्षण र निराशा दुवैको सामना गर्दै आएको छ । त्यतिवेला माओवादी केन्द्रसँग केही स्थानीय तहमा गरिएको चुनावी तालमेलले कंग्रेसलाई खासै ठूलो उपलव्धि हासिल हुन सकेन । बरु लगत्तै प्रदेशसभा र संघीय संसदको निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन छाडेर एमालेसँग चुनावी गठजोड गरेपछि कंग्रेस दोस्रो स्थानमा खुम्चियो ।

 २०७४ को चुनावमा प्रत्यक्षतर्फ २३ र समानुपातिकमा गरी ४० सिट जितेको कंग्रेस दुई वामपन्थी दलको एकतासँगै प्रतिपक्षीको भूमिकामा सीमित हुन पुगेको थियो । शक्तिशाली कम्युनिष्ट पार्टीले झन्डै दुई तिहाइको बहुमत हासिल गर्दा कंग्रेस कमजोर प्रतिपक्षी बन्न पुग्यो । तर, राजनीतिमा भएका नाटकीय परिवर्तनसँगै नेकपा विभाजित भएपछि कंग्रेस सभापति शेरवहादुर देउवा फेरि एकपटक प्रधानमन्त्री पदमा विराजमान हुन पुगे ।

लगत्तै माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलसँगको चुनावी तालमेलपछि २०७९ सालमा कंग्रेस पहिलो शक्तिको रुपमा संसदमा खडा भयो । तैपनि सत्ताको नेतृत्व पाउन सकेन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने । एमाले लगायत दलसँग माओवादीको गठबन्धनलाई दुई महिनाभित्र भत्काएर कंग्रेसले सत्ता सहयात्राको अर्को अध्याय शुरु ग¥यो । तर पार्टीभित्रको आन्तरिक किचलोले गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था सृजना भएपछि अहिले आएर कंग्रेस फेरि प्रतिपक्षमा पुगेको हो । गठबन्धनमा आवद्ध दलको चरित्र बुझेर अघि बढ्न नसक्दा अहिलेको अवस्था सृजना भएको कंग्रेस नेता गुरुराज घिमिरे बताउँछन् ।

कोशी प्रदेश सरकार गठन, राष्ट्रिय सभाको निर्वाचन नतिजा र महासमिति बैठकले गठबन्धनको सन्दर्भमा लिएको नीतिलाई हेर्ने हो भने कंग्रेसभित्रको आन्तरिक राजनीतिले सत्ता राजनीतिलाई प्रभावित पारेको बुझ्न कठिन छैन । त्यसमाथि मन्त्री हेरफेरमा प्रधानमन्त्री दाहालले चाल्न खोजेको कदमलाई साथ दिन कंग्रेस नेतृत्वले अस्वीकार गर्नुलाई गठबन्धन भत्किनुको कारण मानिएको छ । कांग्रेसका सहमहामन्त्री जीवन परियारले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री दाहालको कारण गठबन्धन भत्किएको बताए ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसबाट धोका पाएको महसुस गर्दै आएको माओवादी र प्रतिपक्षी एमालेका दोस्रो तहका नेताहरुले वामपन्थी एकताको पहल स्वरुप नयाँ समीकरण निर्माण गर्ने अगुवाइ गर्दा कंग्रेसको सत्तायात्रा छोट्टिएको मान्नेहरु पनि छन् । उता, कंग्रेसको वर्तमान नेतृत्व र समग्र पार्टीले लिएको नीति भन्दा फरक धारणा राख्ने कंग्रेसजनले भने उनीहरुकै शव्दमा प्रचण्डपथको सहयात्राबाट कंग्रेसको बर्हिगमन उपयुक्त भएको भन्दै खुशी मनाइरहेका छन् । माओवादीसँग सहकार्य अन्त्य भएपछि पार्टीलाई अब सुध्रिएर जाने मौका मिलेको मत समेत कंग्रेसभित्र पाइन्छ । कंग्रेस नेता डा. मिनेन्द्र रिजाल माओवादीको बन्धनबाट मुक्त भएको बताउँछन् ।

गठबन्धन फेरिएर सत्ता बाहिर भएपनि यसबाट कांग्रेसलाई क्षति भएपनि दीर्घकालीन रुपमा भने फाइदा पुग्ने विश्लेषण गरिएको छ । प्रतिपक्षी बेन्चमै बसेर आगामी दिनमा बलियो शक्ति बन्ने अवसर कंग्रेसले पाएको विश्लेषक गेजा शर्मा वाग्लेको भनाइ छ ।

आलोपालो प्रधानमन्त्रीको सहमति अनुसार फेरि एक पटक प्रधानमन्त्री बन्ने योजनामा रहेका कंग्रेस सभापति देउवालाई गठबन्धन भत्किंदा सबैभन्दा ठूलो धक्का लागेको टिप्प्णी समेत भएका छन् । सत्ता राजनीतिका माहिर खेलाडी देउवाले वामपन्थी दलको अन्तरविरोधको लाभ उठाउँदै पार्टीलाई संसदको ठूलो दल बनाएर राजनीतिक सफलता हासिल गरेकोमा धेरैको विमति छैन । अर्को दृष्टिकोणबाट हेर्दा पार्टीभित्रको सन्तुलन र गठबन्धनका दलसँग समन्वय मिलाउन नसक्दाको प्रहार यतिखेर देउवाले खेप्नुपरेको हो । सत्ताबाट बाहिर भएपनि कम्युनिष्ट पार्टीको बन्धनबाट मुक्त भएको भन्दै खुशी प्रकट गरिरहेका कंग्रेसजनले कहिलेसम्म पार्टी सत्ता बाहिर भएको हेर्न चाहन्छ भन्ने सवाल चाहि महत्वपूर्ण ठानिएको छ । 


प्रतिक्रिया