इलाम २ उपनिर्वाचन परिणामको अड्कलबाजी गर्न छैन सहज

चैत्र २६, २०८० | काठमाडौं

आगामी बैशाख १५ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका राजनीतिक दलहरु र उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् । इलाम क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभा १ मा उपनिर्वाचन हुन लागेको हो । दलहरुले देखाएको सक्रियताले इलामको उपनिर्वाचनप्रति भने बढी चासो देखिएको छ । इलाम क्षेत्र नम्वर–२ मा एमाले र माओवादी केन्द्रले साझा उम्मेदवार उठाएका छन् भने कंग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी लगायत दलले छुट्टै उम्मेदवारी दिएका छन् । इलामको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाको लडाइ बनाएका छन् । परम्परागत भनिएका पार्टी, नयाँ दल र पहिचानवादी पक्षधरका उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ ।

यतिबेला मुलुुक प्रतिनिधिसभा अन्तर्गत इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर एकमा हुुने उपनिर्वाचनको चटारोमा छ । आगामी बैशाख १५ गते इलाम र बझाङमा हुुने उपनिर्वाचनको कसीमा दलहरु घरदैलो अभियानमा सक्रिय बनेसंगै त्यस क्षेत्रमा चुनावी सरगर्मीले रौनकता थपिएको छ । बझाङको उपनिर्वाचनको तुलनामा इलामको चुनावप्रति बढी चासो देखिएका छन् । प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात् इलाममा हुन लागेको उपनिर्वाचनमा १२ राजनीतिक दल र ८ स्वतन्त्र गरि २० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । दशकौ लामो पुुराना दलहरुको वर्चश्व र जनजाती बाहुुल्यता रहेको इलाममा पुरानादेखि नयाँ उदय दलसहित पहिचानवादी पनि प्रतिस्पर्धामा होमिदा यसपटक चुनावी परिणामप्रतिको चासो सर्वत्र बढेको छ ।

इलाममा सत्तारुढ एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङ, सत्तारुढ अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट मिलन लिम्बुु, एकीकृत समाजवादीका जितबहादुर राई चुनावी प्रतिस्पर्धामा रहँदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डम्बर खड्कालाई चुनावी मैदानमा उतोरको छ । पहिचानवादीका तर्फबाट नेता डकेन्द्रसिंह लिम्बुुले जसपा र बाबुराम भट्टराईको पार्टीको समर्थन पाएका छन् । एमाले आफ्नो विरासत जोगाउने ध्याउन्नमा छ भने कांग्रेस पनि पहिलेको नतिजा उल्टाउने प्रयासमा छ । यस्तै चितवन र तनहुँमा यसअघि सम्पन्न उपनिर्वाचनको नतिजाबाट हौसिएको रास्वपा इलाममा जित निकालेर आफ्नो उदयको बिगुल फुुक्ने रणनीतिमा छ । त्यसकारण पनि एमाले, कांग्रेस, माओवादी, पहिचानवादीबीचको प्रतिस्पर्धाले इलाम २ को उपनिर्वाचन रोचक हुने देखिन्छ । एमाले र माओवादी केन्द्रक साझा उम्मेद्वार बनेका सुहाङलाई बुुबाले तीन दशक धानेको संसदीय राजनीतिको विरासतलाई निरन्तरता दिनुपर्ने मुख्य चुनौति छ । शिक्षा, स्वास्थ्य, पर्यटनलगायतमा आफना् एजेण्डा बनाउदै चुनावी प्रतिस्पर्धामा होमिएका सुहाङले सुशासनमा जोड दिएका छन् ।

उपनिर्वाचनको नतिजाले संसदीय अंकगणितमा खासै उलटपुुलट हुने अवस्था नबनेपनि २०८४ सालको आमनिर्वाचन लक्षित एवं आफ्नो विरासत जोगाउने र उल्टाउने कसरतमा दलहरु लागिपरेको बुुझ्न कठिनाइ छैन । इलाममा यसपटक कसको पल्ला भारी होला भनेर विश्लेषण गर्ने हो भने, अघिल्लो निर्वाचनको मतपरिणाम र बँदलिदो वर्तमान राजनीति परिदृश्यलाई हेर्नुपर्ने हुन्छ । इलाममा दशकौं अघिदेखि मुख्य प्रतिस्पर्धामा एमाले र कांग्रेस छन् । २०५६ सालयता एमालेका नेता नेम्वाङले विरासत जोगाउदै आउँदा गत निर्वाचनमा कांग्रेसका नेता खड्का नेम्वाङसंग १ सय १४ को झिनो मतान्तरले पराजित भएका थिए । त्यसबेला केन्द्रीय सत्तागठबन्धमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठजोडकाबीच एक्ला प्रतिस्पर्धी एमालेका नेम्वाङ विजयी भएका थिए । अघिल्लो हारको बदला लिने कांग्रेसको रणनीति छ । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रामा प्रवेश गरेका कांग्रेस नेता खड्का पार्टी जिल्ला सभापति हुन् । नागरिकका हरेक समस्या समाधानमा लागिपरेकोले जित सुनिश्चितको दाबी खड्काको छ ।

२०७९ मंसिरमा भएको चुनावमा नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले त्यसबेला २९ हजार ९ सय ६ मत प्राप्त गरे । यस्तै रास्वपाका प्रकाश सापकोटाले एक हजार ३ सय ८० मत पाएका थिए । यसपटक रास्वपाले पत्रकारिता एवं माओवादी पृष्ठभूूमिका लिम्बुलाई उम्मेद्वार बनाएपछि इलामको चुनावप्रति चासो ह्वात्तै बढेको छ । इलामको समृद्धी ल्याउने र सुशासनप्रति प्रतिवद्ध भएको लिम्बुको भनाइ छ ।

इलाम २ मा एक लाख १५ हजार ३४२ मतदाता रहेकोमा त्यसबेला ६८ हजार ९ सय ५१ मत खसेको निर्वाचनको आयोगको तथ्यांक छ । समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादी केन्दले्र ५ हजार १५३, रास्वपाले ४ हजार ६८६, राप्रपाले एक हजार १९१, जसपा ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ मत पाएका थिए । आयोगका अनुुसार इलाम २ मा अहिले १ लाख १५ हजार ४६७ मतदाता छन् । कोशी प्रदेश नामकरणको विरोधमा रहेका पहिचानवादी समूहले समेत निर्वाचनबाट आफ्नो जनमत परीक्षण गर्दैछ । यस्तो अवस्थामा इलामको चुनावी परिणाम आंकलन गर्न कठिनाइ हुने विश्लेषक पिताम्बर भण्डारी बताउँछन् ।

अस्थीर राजनीतिप्रति नागरिकमा निराशा बढ्दै गइरहेका बेला उपनिर्वाचनमा दलहरुलाई आफ्नो परीक्षण गर्ने अवसर प्राप्त भएको छ । उपनिर्वाचनमा परम्परागत भनिएका पार्टी, नयाँ दल र पहिचानवादी राजनीतिका पक्षधरले पाउने मतले राजनीतिको आगामी दिनलाई गतिलो सन्देश दिने पक्का छ ।  


प्रतिक्रिया