नेपालले विश्वकप फ्रि ह्यान्ड खेल्ने भएकाले बलिया टिमहरु दबावमा

जेष्ठ १२, २०८१ | काठमाडौं

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको नवौँ संस्करण सुरु हुन अब मात्र एक साता बाँकी छ । वेष्टइण्डिज र संयुक्त राज्य अमेरिकामा आयोजना हुने प्रतियोगिता आगामी असार १७ गतेसम्म संचालन हुनेछ । विश्वकप खेल्न नेपाली टिम अमेरिका पुगिसकेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप पहिलो पटक खेलेको थियो । सोे विश्वकप नेपालका लागि चाड जस्तै थियो, यस पटकको उत्साह झन् बेग्लै छ ।

टी–२० विश्वकपको दोस्रो अनुभव बटुल्न नेपाललाई एक दशक लाग्यो । सन् २०१४ मा पहिलो विश्वकप खेलेपछि नेपाली क्रिकेटले नयाँ उचाइ लिने आशा धेरैको थियो । तर नेपाल क्रिकेट संघ क्यानको आन्तरिक राजनीति, क्यान निलम्बन, छोटो अवधीमा मुख्य प्रशिक्षक परिवतर्न हुनु लगायतका विविध कारणले गर्दा हिंड्न खोजेको नेपाली क्रिकेट झन् बामे सर्ने अवस्थामा पुग्यो । एक दशक अघि आईसीसी टि–ट्वान्टी विश्वकप क्रिकेटमा डेब्यू गराएका कप्तान पारस खड्का अहिले क्यान सचिव बनिसकेका छन् ।

सन् २०१४ मा विश्वकप खेल्ने अर्का खेलाडी हुन् शक्ति गौचन । झन्डै डेढ दशक नेपाली टिमबाट खेलेका शक्ति हाल खेलाडी उत्पादनमा व्यस्त छन् । नेपाली टीमका महत्वपूर्ण खेलाडी कुशल मल्ल उनैको उत्पादन हुन् । पहिलो पटक विश्वकप खेल्दा आपूm भाग्यमानी बनेको उनी बताउँछन् ।

सन् २०१४ मा भएको टी–२० विश्वकपको पहिलो चरणमा अफगानिस्तान र हङकङलाई पराजित गरेको नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । नेपाली टोली नेटरनरेटका आधारमा दोस्रो चरणमा पुग्न असफल भएको थियो । नेपाली टीम यतिबेला युवा कप्तानको नेतृत्वमा छ । विश्वकपका लागि टीमसँगै नेपाल नै तयार भइसकेको कप्तान रोहित कुमार पौडेल बताउँछन् ।

नेपालले दोस्रो पटक विश्वकप खेल्न लाग्दा १० वर्षअघि खेलेका एक खेलाडी मात्र दोस्रो पटक विश्वकप खेल्दै छन् । सोमपाल कामी दोस्रो पटक विश्वकप खेल्ने एक्ला खेलाडी हुन् । उनी अहिले टोलीको मुख्य र अनुभवी खेलाडी हुन् ।

२०१४ मा विश्वकप खेल्ने अन्य टिमका आधाभन्दा बढी खेलाडीले सन्यास लिईसकेका छन् । तर, युवा खेलाडीको बाहुल्य रहेको टिममा नयाँ जोश र उत्साह छ । यो नेपालका लागि फाइदाजनक छ । युवा खेलाडीले भरिएको टिम हुुँदा नेपालले सुधारीको प्रदर्शन गर्ने विश्लेषकहरु बताउँछन् । नेपालले फ्रि ह्यान्ड खेल्ने भएकाले बलिया टिमहरु दबावमा पर्नेछन् । तर, टिममा अनुुभवी खेलाडीको संख्या कम हुँदा दबाबमा खेल्न भने गाह्रै पर्छ । सधैँ ब्याटिङमा कमजोर देखिने नेपाली टिमले पछिल्लो समय सुधारिएको प्रदर्शन गर्दै आएको खेल जानकार निरञ्जन राजवंशीको भनाई छ ।

विश्वकपको तयारीका लागि भन्दै एक महिना अगावै अमेरिका पुुगेको नेपाली टिमले फ्लोरिडा र वेस्ट इन्डिजमा त्यहाँका स्थानीय टिमहरुसँग मैत्रीपूर्ण म्याच खेलेको छ । अफिसियल वार्मअप म्याच भने नेपालले डालासमा खेल्दैछ ।

नेपालले जेठ २२ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । जेठ ३० मा दोस्रो खेल श्रीलंकासँग खेले पश्चात नेपाली टिम वेस्ट इन्डिज लाग्नेछ । वेस्ट इन्डिजमा आगामी असार १ मा दक्षिण अफ्रिकासँग खेल्दा, नेपालले लिगको अन्तिम खेल असार ३ मा बंगलादेशसँग खेल्ने तालिका छ । ५ टोली सहभागी समूहको शीर्ष दुुईमा पर्न सके नेपाल टी–२० विश्वकपको अघिल्लो चरण प्रवेश गर्नेछ ।

लामो समयको अन्तरालपछि नेपालले विश्वकप खेल्न लागेकाले नेपाली समर्थक पनि उत्साहित छन् । खेलाडीहरुले पनि त्यही अनुसार तयारी गरेका छन् । विश्वकपमा छनोट भएका सबै टिम एकसा एक हुुन्, तर नेपालसँग गुुमाउँनुपर्ने कुरा केही छैन । त्यही भएर नेपाली टिमले एक्सपेरिमेन्ट गर्ने हिसाबले पनि खेल्न सक्छ । त्यही फाईदा उठाउन सके नेपालको टी–२० विश्वपकपको दोस्रो अनुभव यादगार हुनेछ । 


प्रतिक्रिया