रास्वपा लगायत दल विवादमाः वैकल्पिक राजनीति शक्ति बन्ने सम्भावना कमजोर !
श्रावण १३, २०८१ | काठमाडौं
परम्परागत र पुराना भनिएका दलप्रति असन्तुष्टी र आक्रोश बढिरहँदा नेपाली राजनीतिमा वैकल्पिक शक्ति र अनुहारको खोजी हुन थालेको बर्षौ भइसकेको छ । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको जित र आम निर्वाचनबाट नयाँ दलहरुको उदयलाई वैकल्पिक शक्तिप्रति रुझानको रुपमा हेर्न गरिएको छ । गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी लगातार जसो विवादमा परेको छ । त्यस्तै, क्षेत्रीय राजनीतिमा आएका नयाँ दल पनि आन्तरिक किचलोमा छन् । नयाँ अनुहारसहित आएका दलहरु विवादमा फसेपछि कतिपयले भने वैकल्पिक राजनीति कमजोर हुन सक्ने बताउन थालेका छन् ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि शुरु भएको शीत युद्धमा विश्व दुई धु्रवमा बाँडियो । पुँजीवादको नेतृत्व अमेरिकाले ग¥यो भने साम्यवादको नेतृत्व तत्कालिन सोभियत संघले गरेको थियो । २० औँ शताब्दीको अन्त्यसम्म पनि यी दुई विचारधाराको वरिपरि नै विश्वको राजनीतिक, आर्थिक र सामाजिक प्रणाली चलायमान रह्यो । यी दुवै विचारधाराले अपेक्षित परिणाम दिन सकेनन् । यसले विश्वमा भोक, गरिबी, बेरोजगारी र अशिक्षा हटाउन सकेन । सन् १९९० को दशक र विशेषगरी, सन् २०१० पछि बहस शुरु हुन थाल्यो । तसर्थ २१ औँ शताब्दीमा अबको संसारमा कस्तो विचारधारा चाहिन्छ, कस्तो राजनीतिक दल, कस्तो नेतृत्व, कस्तो राज्य चाहिन्छ भन्ने बहसबाट उन्नत लोकतन्त्रको कल्पनालाई दृष्टिगत गर्दै सिर्जित भयो वैकल्पिक राजनीतिको बहस । नयाँ उन्नत लोकतान्त्रिक व्यवस्थाको खोजी गर्दै सन् २०१० देखि सन् २०१२ सम्म अरब विद्रोह, भारतमा भारतीय जनता पार्टी, भारतीय कंग्रेस र कयौँ क्षेत्रीय पार्टी हुँदाहँुदै पनि वैकल्पिक राजनीतिक शक्तिको रुपमा सन् २०१३ मा आम आदमी पार्टी आपको उदय, अमेरिकामा टि पार्टी, जर्मनीको एएफडी पार्टी र प्रायः युरोपियन मुलुकमा वैकल्पिक शक्तिको राम्रो प्रयोग भएको मानिन्छ ।
नेपालमा भने विगतमा वैकल्पिक राजनीति नभएको होइन । २०४६ सालपछि नेपाली कंग्रेस, कम्प्युनिष्ट र राजावादी भन्दा सहभागितामूलक र उन्नत लोकतन्त्रको परिकल्पना गर्दै फरक सोच र विचार राखी केही दल खुलेका थिए । जसलाई तत्कालिन समयको वैकल्पिक राजनीति शक्तिको रुपमा हेर्न सकिन्छ । जस्तोः देवेन्द्रराज पाण्डेको लोक दल, मधेशी, जनजातिका सवाल र समावेशिताको विषय उठाउने गजेन्द्रनारायण सिंहको सद्भावना पार्टी र जैविकतावादी विश्व दृष्टिकोण राखी गठन भएको कुवेर शर्माको हरियाली पार्टी । अधिंकाश यी दलहरु समयक्रममा त्यसै सेलाए । वर्तमानमा वैकल्पिक राजनीति मानिएका दलले छोटो अवधिमै लोकप्रियता गुमाइरहेको अवस्थामा नेपालमा वैकल्पिक राजनीति खासै शुरु नै हुन नसकेको टिप्पणी भएको छ । “नेपालमा वैदेशिक राजनीति भन्ने जुन शब्द प्रयोग भयो, त्यो शब्दको अर्थ नै नबुझिकन मान्छेहरुले रहर गरेर पार्टी खोले । पार्टी बनायो भने नेता भइहालिन्छ, ठूलो मान्छे भइहालिन्छ, हल्लिखल्लि गर्न सकिहालिन्छ भन्ने सोच पलायो,” विश्लेषक डम्बर खतिवडा बताउँछन् । उनका अनुसार वैकल्पिक राजनीतिको मूल्य मान्यता, त्यसको विश्व दृष्टिकोण, त्यसको सिद्धान्त, एजेण्डा, विचार, निष्ठा, लगाव, समर्पणको भावना, योगदान, बलिदानको भावना विना मान्छेहरु आए । भन्छन्, “खासमा त्यो वैकल्पिक राजनीति होइन । त्यो खासमा लोकप्रियतावादी र नायकत्वको राजनीति हो ।”
नेपालमा प्रयोगको हिसाबले तीन वटा पार्टी अलग अलग समयमा वैकल्पिक शक्तिको रुपमा चर्चामा आएका थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले संकटकाल लगाई बिजुली र इन्टरेनट काटेपछि राजनीतिमा होमिएका उज्जवल थापाको नेतृत्वमा विवेवशील नेपाली दल १५ जेठ २०६९ मा जन्मियो । २०७४ को निर्वाचनबाट प्रदेशमा मात्र एक जना प्रतिनिधि पठाउन सक्यो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा हल्लि खल्लीका साथ नयाँ शक्ति पार्टीको ३० जेठ २०७३ मा स्थापना भयो । र, दिन पुगोस् र खान पुगोस् अभियान चलाउँदै आएका पूर्व पत्रकार रविन्द्र मिश्रले १५ असोज २०७७ मा साझा पार्टीको घोषणा गरे । पछि विवेकशील र साझा मिलेर विवेकशील साझा बन्यो भने नयाँ शक्ति परम्परागत दलसँगै विलय भयो । परम्परागत दलले हुँदैन नयाँ विचार चाहिन्छ भन्ने विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्र हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा छन् । यसबीच, युवा नेतृ समीक्षा बाँस्कोटाको अध्यक्षतामा आफ्ना हराइरहेका पाइलाहरु खोजिरहेको विवेकशील युवामाझ समेत स्वर्गीय थापाको बेलामा जस्तो लोकप्रियता कमाउन सकेको छैन । वैकल्पिक शक्तिका यी तीन हाँगालाई अवलोकन गर्ने हो भने थापाको नेतृत्वमा रहेको विवेकशील नेपालीलाई मात्र वैकल्पिक शक्तिको रुपमा लिन सकिने विश्लेषक खतिवडाको भनाइ छ । भन्छन्, “वैकल्पिक शक्तिको तीन वटा हाँगालाई अवलोकन गर्ने हो भने उज्जवल थापा नेतृत्वको विवेकशील मात्र थोरै वैकल्पिक शक्तिको चरित्र थियो । र, त्यो साझासँगको एकताले गर्दा सिद्धिएर गयो । साझा पार्टी र नयाँ शक्तिमा वैकल्पिक शक्तिको कुनै चरित्र थिएन । अहिले आएको सिके राउत र रेशम चौधरीको पार्टी पनि क्षेत्रीय मुद्दामा आधारित हो ।”
वैकल्पिक शक्तिको उत्कट खाँचो परिरहेको बेला छ महिनामै पार्टी गठन गरेर सत्तामा पुगेको रास्वपाले भने पाएको अवसर समेत गुमाउन सक्ने देखिएको छ । सभापति रवि लामिछानेको नागरिकता र पासपोर्ट विवाददेखि सहकारी काण्डसम्मका घटनाले रास्वपालाई पिरोलिरहेको देखिन्छ । पहिलो पटककै सहभागितामा २१ सिट जितेर चर्चा कमाएको रास्वपाले अहिले पछिल्लो समय आम जनताको प्रश्नको सामना गरिराख्नुपरेको छ । रास्वपालाई वैकल्पिक शक्ति मान्न नसकिने बताउँदै यसले वैकल्पिक शक्तिको रुपमा उदाएका अन्य दललाई समेत प्रभाव पारेको विवेकशील साझाकी अध्यक्ष बाँस्कोटाको भनाइ छ । “हामी के कुरामा स्पष्ट छाँै भने रास्वपा नयाँ दल त पक्कै हो । उसले जुन हिसाबले मत प्राप्त ग¥यो, हामीले वैकिल्पक शक्तिको जुन एजेण्डा प्रचार गरिरहेका थियो । त्यो विषयलाई समेटेर उसले मत पाएको पक्का हो,” उनी भन्छिन्, “तर, ऊ आफैँ वैकल्पिक राजनीतिक या वैकल्पिक दलको रुपमा स्थापित भइसकेको चाहिँ होइन ।”
लामिछानेको टेलिभिजन पत्रकारिताको क्रेजसँगै परम्परागत दलबाट विकल्प खोजिरहेका आम मतदाताको मत जितेको रास्वपाले संसद्मा २० सिट जित्यो । रास्वपाले प्रत्यक्षमा ७ सिट जितेको र समानुपातिकमा १३ सिट पाएको थियो । नागरिकता विवादमा पद रिक्त भएपछि भएको उपनिर्वाचनमा लामिछानेको जित र तनहुँको उपनिर्वाचनमा स्वर्णिम वाग्लेको सफलतापछि २१ सिटसहित रास्वपा चौथो ठूलो राष्ट्रिय दल बन्यो । संसदमा चौथो मानिएपनि सत्ताको तानाबाना बुन्न ठूला दल नमिलेको अवस्थामा निर्णायक शक्तिमध्ये एक बन्न सक्ने अवसर रास्वपालाई मिल्यो । तर सत्तामा आएदेखि विवादले रास्वपालाई छोडेन । दोस्रो पटक सत्ताको स्वाद चाखेको केही समयमा नै शीर्षस्थ नेता लामिछाने पासपोर्ट दुरुपयोगदेखि सहकारी ठगी, उपसभामुख इन्दिरा रानाले दूतावासलाई लेखेको सिफारिस पत्रले निकालेको विवाद र पार्टीभित्रको आन्तरिक कलहले रास्वपा अप्ठ्यारोमा परेको छ । र, वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना कमजोर भएको टिप्पणी भएका छन् । त्यसो त वैकल्पिक शक्ति र रास्वपालाई एकै भनेर तुलना गर्न नहुने रास्वपाका नेता सन्तोष परियार बताउँछन् । जनतामाझ पार्टीको लोकप्रियता नघटेको भन्दै नेता परियारले भने, “यो वैकल्पिक भन्दा पनि एउटा राजनीतिक अभियान रास्वपाले आजभन्दा दुई वर्षअघि उठायो । यो समाज विज्ञानको हिसाबले पनि स्वभाविक थियो । जहाँसम्म रास्वपाको जुन तहको चर्चा थियो, जुन तहको यसको गति थियो, आज यो त्यही तहमा छैन, झरेको छ भन्ने सत्य होइन ।”
गत चुनावबाट तराई मधेशको राजनीतिमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदयलाई वैकल्पिक शक्तिको रुपमा हेरिएको थियो । मधेस प्रदेशमा डा. सिके राउत नेतृत्व जनमत पार्टी र पश्चिम क्षेत्रमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले चुनावी सफलताले नयाँ आशा र अपेक्षा मतदाता माझ देखाएको थियो । ती दल पनि सत्ता राजनीतिमा केन्द्रित भएको भन्दै अहिले आलोचना भएको छ । नागरिक उन्मुक्ति पार्टीको आन्तरिक कलह अझै साम्य भएको छैन । यसरी हेर्दा नयाँ आएका दल र नेताहरुले जनताको भरोसा जित्न कठिन हुँदै जाने देखिन्छ, वैकल्पिक राजनीतिक शक्तिको चाहना तत्काल पुरा हुन नसक्ने अवस्था निर्माण हुँदै गएको कतिपयको बुझाइ छ ।