सांसदहरुको कुण्ठा पोख्ने थलोको रुपमा परिणत हुँदै संसद

श्रावण १६, २०८१ | काठमाडौं

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने जननिर्वाचित थलो हो । जनप्रतिनिधिमूलक यो निकायले शासन प्रणालीका लागि नीति निर्धारण तथा कानून निर्माण लगायत महत्वपूर्ण कार्य जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । र, संसदभित्र आम सरोकारका मुद्दा र राष्ट्रिय राजनीतिका बिषय उठाउँदा सत्तापक्ष र प्रतिपक्षबीच बहस हुनु स्वभाविक पनि हो । तर, पछिल्लो समय नेपालको संसद सांसदहरुको कुण्ठा पोख्ने थलोको रुपमा परिणत भएको टिप्पणी हुन थालेका छन् । 

एकातिर सत्ता राजनीतिका कारण संसदमा कानून निर्माणले गति लिन सकेको छैन भने अर्कोतर्फ सांसदहरुले संसदीय मर्यादा विपरितको अभिव्यक्ति दिइरहेका छन् । जसबाट संसदप्रति आम नागरिकको भरोसा टुट्दै जाने जोखिम बढाएको छ ।

नेपालमा संसदीय अभ्यास सुरु भएको ६६ वर्ष भएको छ । प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को प्रथम बैठक २०१६ असार १६ गते बसेको थियो । यसरी ६ दशक भन्दा लामो इतिहास बोकेको संसद पछिल्लो समय भने जनप्रतिनिधिको कुण्ठा पोख्ने थलोको रुपमा परिणत भएको भन्दै टिप्पणी हुन थालेका छन् । 

संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । तर, पछिल्लो समय यस्तो भएको पाइँदैन । सांसदहरुको अभिव्यक्तिलाई लिएर प्रश्न उठिरहेका छन् । नयाँ भनिएका दलका सांसदहरु मात्र होइन पुराना दलका सांसदको अभिव्यक्तिले संसदीय गरिमा कायम राख्न सकेको दैखिँदैन । 

विगतमा संसदमा हुँदै आएका विकृतिबाट पाठ सिक्नुपर्नेमा अनुभवी भनिएका सांसदहरु पनि अनुशासनमा रहेर मर्यादित रुपमा प्रस्तुत हुन समेत सकेका छैनन् । र, बेलाबखतमा संसदमा जुहारी नै चल्ने गरेको छ । पछिल्लो पटक साउन ७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा प्रतिपक्षी माओवादी केन्द्रका सांसदसँग सवाज जवाफ भएको थियो ।

त्यसो त नेपालको संसदमा विगतमा कुर्सी भाँच्नेदेखि सांसदबीच हातपातसम्मको स्थिति नआएको पनि होइन । संसद दोहोरो बहस, घोचपेच, व्यंग्य र अपमानका रुपमा होइन शालीन अनि शिष्ट विचार राख्ने थलोका रुपमा रहनु पर्छ । सांसदले अरुको अपमान गर्ने, जथाभावी बोल्ने, अवरोध गर्ने, सुन्ने धैर्य नराख्ने जस्ता कार्यले संसदीय मर्यादा विपरीत मान्निछ । 

संसदमा नयाँ अनुहार भएकाले संसदीय अभ्यासमा अभ्यस्त नभएको आरोप लाग्ने गरेको छ । कतिपय अवस्थामा सामान्य त्रुटि हुने भन्दै सुधार गर्दै जानुपर्ने सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको तर्क छ । संसदमा नयाँ अनुहार बढी भएकाले सामान्य त्रुटि हुने र अभिव्यक्तिमा केही समस्याहरु रहेको उहाँले बताउनुभयो । ‘हाम्रो संसद बेलायतको जस्तो परिपक्व भएको छैन । हाम्रो संसदीय अभ्यास छोटो छ’, घिमिरेले भन्नुभयो, ‘संसदीय अभ्यासमा नयाँ नयाँ मान्छे आएका हुन्छन् । उनीहरुलाई सिक्न पनि समय लाग्छ, सुधार हुँदै जान्छ ।’ 

संसद सार्वभौम जनताका प्रतिनिधिहरुको थलो भएकोले त्यहाँ अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपले रहेको कांग्रेसका प्रमुख सचेतक घिमिरेले बताउनुभयो । ‘यो सार्वभौमसत्ताको जनताका प्रतिनिधिहरुको थलो हो,’ उहाँले भन्नुभयो, ‘त्यहाँ मान्छेले आफ्नोे अभिव्यक्ति राख्न पाउँछन्, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपले छ ।’

संसदीय अभ्यासमा पोख्त सांसदले नै संसदीय मर्यादा र गरिमा जोगाइराख्न पहल गर्नुपर्नेमा आफैं उल्लंघन गर्नु र पटकपटक त्यस्ता गतिविधि दोहोर्‍याउनुले उनीहरु संसदप्रति जिम्मेवार नदेखिएको टिप्पणी भइरहेका छन् । 

जनप्रतिनिधिले संसदमा बोल्दा तथ्य र तथ्यांकका आधारमा शिष्ट भाषामा आफ्नो विचार राख्नुपर्नेमा त्यसको अभाव देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको भनाइ छ । जनप्रतिनिधिले संसदको ओज घट्ने गरी कुनै काम गर्न नहुने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदको गरिमालाई कायम राख्नुपर्छ अनि मात्र त्यसको सम्मान हुन्छ । त्यो सम्मान हुँदा मात्रै हाम्रो प्रणाली, राज्य व्यवस्था बलियो हुन्छ ।’

संसदमा पछिल्लो समय तथ्य तथ्यांकमा भन्दा पनि भावना, आवेग र द्वेषमा बहस छलफल हुने गरेको उहाँले बताउनुभयो । ‘पछिल्लो समय संसदमा तथ्य तथ्यांकमा भन्दा पनि भावनामा, आवेगमा द्वेषमा बहस छलफल भएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘संसदलाई जनताको मुद्दा उठाउने भन्दा पनि आरोप प्रत्यारोप गर्ने थलो बनाईँदै छ यो शोभनीय भएन । यो वाञ्छित काम पनि होइन् ।’

प्रतिनिधि सभा बैठक सञ्चालन नियमावलीले बैठकको सुव्यवस्था कायम राख्न सभामुखलाई विशेष अधिकार दिएको छ । बैठकमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियम पनि उल्लेख छ । सांसदको बोल्ने, बस्ने, हिँड्ने तरिकासँगै सभामुखको आसन तथा बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने लगायत विषय नियमावनीमा समावेश छन् । तर, ती विषयमा कसैको ध्यान पुगेको देखिँदैन । 

संसदमा हुने बहस, छलफल, शब्द चयन स्तरहीन, मर्यादाहीन भएको भन्दै यस्ता गतिविधिले संसदीय गरिमामा नकारात्मक असर पुग्ने संसदीय मामिलाका जानकार सूर्यकिरण गुरुङले बताउनुभयो । 

संसदलाई मर्यादित बनाउन सबै राजनीतिक दल, सभामुख उपसभामु र सांसद स्वयम पनि सचेत हुनुपर्ने उहाँको तर्क छ । ‘संसदमा आरोप प्रत्यारोप गरेर एकले अर्कोलाई नङ्ग्याउने काम भईरहेको छ यसले जनतामा राम्रो सन्देश सम्प्रेषण भएको छैन’, उहाँले भन्नुभयो, ‘अहिले जनता धेरै सचेत छन् संसदमा यस्तो खालको गतिविधिले नकारात्मक प्रभाव परिरहेको छ ।’

पछिल्लो समय उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति भएको घटनासँग मिल्दोजुल्दो रहेको भन्दै टिप्पणी भईरहेका छन् । पदाधिकारी नै विवादमा मुछिँदा संसदको गरिमामा नकारात्मक असर पर्ने उहाँको भनाई छ । ‘उपसभामुख नै त्यत्रो विवादमा मुछिनु भएको छ । संसदका पदाधिकारी नै त्यसरी विवादमा आउँदा संसदको गरिमालाई धेरै नकारात्मक असर पार्दछ’, संसदीय मामिलाका जानकार गुरुङले भननुभयो, ‘यो विषयमा पनि सम्बन्धित दलले ख्याल गर्नुपर्छ ।’

संसदीय मर्यादा विपरीतका सम्बोधन, भाषाशैलीका कारण संसदको गरिमामाथि मात्र प्रहार गरेको छैन, राजनीतिक नेता र जनप्रतिनिधिप्रति आममानिसको हेराइ र बुझाइ समेत नकारात्मक बन्दै गएका छन् । त्यसैले संसदलाई मर्यादित बनाउने जिम्मेवारी राजनीतिक दल र जनप्रतिनिधिकै काँधमा आएको छ । त्यसमाथि सभामुखले समेत संसदको मर्यादालाई जोगाउन हरसम्भव प्रयास गर्नुपर्दछ । 


प्रतिक्रिया