नेपाली रङ्गमञ्चः विषयवस्तु र शैलीमा परिवर्तन, दर्शक पाउन भने चुनौती

श्रावण २७, २०८१ | काठमाडौं

राजनीतिक परिर्वतनसँगै नेपालका विभिन्न क्षेत्रमा परिवर्तन देखिएका छन् । जसको एक उदाहरणका रुपमा रङ्गमञ्चलाई लिन सकिन्छ । हुन पनि रङ्गमञ्चमा अहिले उठान हुने विषयवस्तु र शैलीमा परिवर्तन हुँदै गएका छन् । विगतमा काठमाडौं उपत्यका र शहर केन्द्रित नाटक मञ्चन हुने गरेपनि अहिले भने देशव्यापी रुपमा विभिन्न समुदाय र विषवस्तुमा आधारित भएर नाटक मञ्चन हुने गरेको छ । तर कतिपयले भने नाटक मञ्चन हुने क्रम बढेपनि मर्म अनुसारको विषयवस्तु आउन नसकेको बताएका छन् ।

राणाकालिन समयभन्दा अघिबाट नै सुरू भएको रङ्गमञ्च र नाटक गर्ने परम्परा अहिले भने देशभर नै विकास भइसकेको छ । पहिले सीमित संख्यामा रहेका नाटकघर विस्तार हुने क्रममा छन् । मण्डला, शिल्पी, कौशी, शैली लगायत नाटकघर काठमाडौंका निजी क्षेत्रबाट सञ्चालित नाटकघरका रूपमा परिचित छन् । काठमाडौं उपत्यका बाहिर दमक, धरान, विराटनगर, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, सुर्खेतलगायत स्थानमा रङ्गमञ्चको चहलपहल देख्न सकिन्छ । यीनै नाटकघरबाट नयाँ कलाकार पनि जन्मिरहेका छन् ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण गरिएका कतिपय नाटकले राम्रो व्यवसायिक सफलता पनि प्राप्त गरेका छन् । पछिल्लो समय मञ्चन हुने नाटक विभिन्न समुदायमा आधारित र सामाजिक विषयवस्तु केन्द्रित हुने गरेको छ । पछिल्लो १० वर्षदेखि रङ्गमञ्च क्षेत्रमा आवद्ध शिल्पी थिएटरकी कलाकार पावित्रा खड्का नाटकको स्वरुप र विषयवस्तुमा परिवर्तन आएको बताउँछिन् । उनले भनिन्–‘अहिले हरेक समूदायको जातजातिको कुराहरू उठ्न थालेका छन् ’, लैङ्गिक हिसाबले विषयहरू उठ्न थालेका छन्, समसामयिक विषयमा पनि नाटक बन्न थालेका छन् ।’


नेपाली साहित्यको क्षेत्रमा अमिट छाप छोडेका बालकृष्ण समले तत्कालीन समयमा मुकुन्द–इन्दिरा नामक नाटक लेखेर पहिलोपटक विक्रम सम्वत् १९९५ मा राणा दरबार बाहिर मञ्चन गराएपछि आधुनिक नेपाली नाटकको सुरूवात भएको मानिन्छ । त्यसपछि भने काठमाडौं, भक्तपुर र ललितपुरमा सुकुलमा देखाइने ज्यापू नाटकलाई काठमाडौंको भोटेबहालमा डबली निमार्ण गरि सुरू गरेको समेत पाइन्छ । नेपालमा विसं २०१६ सालमा राजा महेन्द्रको शाशन अवधिमा पहिलो नाट्यशालाको रूपमा राष्ट्रिय नाचघर बनेको थियो ।

पछिल्ला दिनमा मञ्चन हुने नाटकमा मौलिकता तथा सामाजिक विषय र मुद्दा आउने क्रममा रहेको रङ्गकर्मी एवम् नाटकघर सञ्चालक समेत रहेका केदार श्रेष्ठ बताउँछन् । उनले भने– ‘पछिल्लो समयमा हाम्रो समाजको कथाहरूलाई पनि मञ्चमा ल्याउने काम भइरहेको छ । ग्रामीण परिवेशका कथाहरू, मुद्दाहरू पनि मञ्चमा अहिले प्रस्तुत भइरहेका छन् । मौलिक र स्थानीय कथा पनि नाटकघरमा देखिन थालेको छ ।’


श्रेष्ठका अनुसार नाटकघर बढेको अनुपातमा दर्शकको संख्यामा भने सुधार आउन सकेको छैन । २०५८ सालमा स्थापना भएको गुरुकुलको समय र अहिलेको तुलनामा दर्शकको संख्यामा सुधार आउन नसकेको हो । पछिल्लो समय रङ्गमञ्च विस्तार भएसँगै यो क्षेत्रमा जोडिन चाहाने युवा जमातको संख्यामा पनि उल्लेख्य वृद्धि भएको पाइन्छ । तरपनि हाल नेपालमा नाटक हेर्ने संस्कृतीको विकास अझै हुन सकेको छैन । नाटक गर्ने परिपाटी र विषयवस्तुमा परिवर्तन आए पनि त्यसको मर्म अनुसार सन्देश दिन भने नसकेको रङ्गमञ्च क्षेत्रलाई नियालिरहेका कवि विप्लव प्रतिकको बुझाइ छ । उनले भने– ‘नाटकमा चैँ व्यापक परिवर्तन आएको छ । धेरै नयाँ रङ्गकर्मी पनि आइरहेका छन्, नाटक पनि मञ्चन भइरहेका छन् तर नाटकको जुन गुणस्तर हुन्छ त्यो भने हराइरहेको छ । ’


विभिन्न विषयवस्तुमा आधारित भएर गरिने कतिपय नाटकको मञ्चनले पर्याप्त मात्रामा सन्देश दिन नसकेको भनी आलोचना पनि भइरहेका छन् । रङ्गमञ्चको क्षेत्रमा नयाँ पुस्ताको आगमन पनि भइरहेको छ भने उनीहरुको क्षमता र सीप विकासका लागि समय समयमा विभिन्न कार्यशाला समेत सञ्चालन भइरहेका छन् । तर पनि अपेक्षाकृत उपलब्धी भने रङ्गमञ्च क्षेत्रले पाउन नसकेको हो । रङ्गमञ्च क्षेत्रलाई निजि क्षेत्रले नै धान्नुपर्ने बाध्यात्मक अवस्था देखिएको र सरकारी निकायबाट पहल नभएको रङ्गकर्मी एवं नाटकघर सञ्चालक समेत रहेका श्रेष्ठको अनुभव छ । ‘नेपाली रङ्गमञ्चलाई हेर्ने हो भने सरकारको शून्य सहभागीतामा पनि उपलब्धी प्राप्त भएको छ ।’ उनले भने, ‘संरक्षण गरि यसको अभिवाकत्व सरकारले लिन सके नेपाली रङ्गमञ्च धेरै माथि हुन्छ ।’

पछिल्ला वर्षहरूमा मञ्चन भएका ‘दामिनी भिर’, ‘मासिन्या’, ‘मेषी दण्ड’, ‘बाखम्मा’ लगायत नाटकहरुले राम्रै चर्चा कमाएका छन् । विषयवस्तुको उठान र मञ्चनले प्राथमिकता पाइरहेको अवस्थामा रङ्गमञ्च क्षेत्र चलायमान त बनेको छ तर नाटकघरले क्षमता अनुसारको दर्शन भने पाउन नसकेको उदाहरण समेत धेरै छन् । चलचित्र हेर्न हलमा दर्शकको भीड लागेपनि अभिनयको गहिराइमा पुगेर विषयवस्तु उठान गर्ने रङ्गमञ्चमा भने त्यति धेरैको ध्यान पुगेको पाइँदैन ।  


नविन कोइरालाका थप लेख पढ्न याहाँ क्लिक गर्नुहोस् 


प्रतिक्रिया