‘वैदेशिक रोजगारीमा गएका युवामा मृगौला सम्बन्धि समस्या बढ्दो’

भाद्र १६, २०८१

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृर्गौला सम्बन्धी समस्या लिएर दैनिक डेढ सयको हाराहारीमा बिरामी पुुग्ने गरेका छन् । केन्द्रका अनुसार ती मध्ये धेरैजसो वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेको बताइन्छ । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार अहिले डायलाइसिस गराइरहेका मध्ये ३० प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका छन् । प्रत्यारोपण गर्नेमध्ये ३० प्रतिशत पनि वैदेशिक रोजगारीबाटै फर्किएका बिरामी छन् । डायलाइसिसका लागि ३० प्रतिशत बढी बसेको डा श्रेष्ठको भनाई छ ।

नेपालबाट दैनिक हजारौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्यांक छ । ती मध्ये कति त स्वास्थ्य समस्या भएपनि जाने गरेका छन् । स्वास्थ्य परीक्षणका लागि तोकिएका स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जाने कतिलाई समस्या हुुँदाहुँदै पनि पठाउने गरेको चिकित्सकको भनाई छ । नेपालबाट स्वास्थ्य परीक्षण गरेर वैदेशिक रोजगारमा गएकामा पनि मृर्गौला सम्बन्धी समस्या देखिएको उनको भनाई छ । मृर्गौला सम्बन्धी समस्या भएका मध्ये धेरै ९५ प्रतिशत पुरुष छन् । ती मध्ये आधा जनजाती रहेको पनि डा. श्रेष्ठ बताउँछन् ।

मृर्गौला सम्बन्धी समस्याबारे विभिन्न संघसंस्थाले अध्ययन गरीरहेका छन् । यस्तै अध्ययन गरीरहेको एउटा संस्था नेपाल विकास समाजले पनि वैदशिक रोजगारीबाट फर्किएका व्यक्तिमा मृर्गौला सम्बन्धी समस्याले कस्तो असर पारेको छ भने अध्ययन गरीरहेको छ । संस्थाले काठमाण्डौंको नेशनल किड्नी सेन्टरमा गरेको अध्ययनले पछिल्लो समय डायलाइसिस गराउनेमध्ये ३१ प्रतिशत वैदेशिक राजगारबाट फर्किएका व्यक्ति भएको देखाएको छ । संस्थाकी कार्यकारी निर्देशक डा स्वेता कोइराला त्यसमध्ये पनि ८१ पुरुष र त्यसभित्र पनि ८३ प्रतिशत खाडी मुलुकमा गएका व्यक्तिमा समस्या देखिएको उनको भनाई छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय वैदेशिक रोजगारीमा गएकामा मृर्गौला सम्बन्धी समस्या देखिन थालेपछि श्रम तथा रोजगार मन्त्रालयसंग समन्वय गरेर काम गर्न लागेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी वैदेशिक रोजगारीमा जाँदाखेरी नै व्यक्तिले चनाखो हुनुपर्ने बताउँछन् । वैदेशिक रोजगारीका लागि जाने देशको हावापानी र रहनसहनबारे व्यक्ति स्वयं पनि जानकार हुनुपर्ने उनको भनाई छ ।

सन् २०२१ मा एशियन जर्नल अफ मेडिकल साइन्सेसमा प्रकाशित विदेशबाट फर्किएका कामदारमा मिर्गौलाको जोखिम सम्बन्धी अध्ययनका क्रममा ५१ जना मिर्गौला रोग विशेषज्ञसँग उनीहरूले हेरेका बिरामीबारे सर्वेक्षण गरिएको थियो । अध्ययनमा खाडी मुलुकबाट फर्केका ४० वर्षमुनिका ३२ पुरुष र ६ महिलालाई सहभागी गराइएको थियो । कामकै सिलसिलामा बिरामी भएर स्वदेश फर्किएका उनीहरूमध्ये ९२ प्रतिशत भन्दा बढीले मिर्गौला सम्बन्धी समस्या भएको बताएका थिए । 

आप्रवासी कामदारमा सामान्य नेपालीको तुलनामा मिर्गौला सम्बन्धी समस्या उच्च ७६ दशमलव ३ प्रतिशत हुन सक्ने अध्ययनको निष्कर्ष थियो । यस्तै सन् २०२० मा किड्नी इन्टरनेशनल रिपोर्टस् जर्नलमा प्रकाशित नेपाली आप्रवासी कामदारमा दीर्घकालीन मिर्गौला रोग सम्बन्धी अध्ययनमा वैदेशिक रोजगारीबाट फर्केका औसत ३७ देखि ३८ वर्षका ४४ जनालाई संलग्न गराइएको थियो। तीमध्ये ९५ प्रतिशत पुरुष थिए । जसमा मलेशियाबाट फर्केका २७ दशमलव ३ प्रतिशत र अन्य खाडी मुलुकबाट फर्केका ७२ दशमलव ७ प्रतिशत सहभागी थिए । अध्ययनको सात महीनाको अवधिमा ६३ दशमलव ६ प्रतिशतले डायलासिस सेवा शुरू गरेको र ६ दशमलव ८ प्रतिशतले मिर्गौला प्रत्यारोपण गरेका थिए । 

यस्तै, २५ प्रतिशतमा मिर्गौलाको समस्या शुरू भएको र चाँडै डायलासिसको तयारीमा रहेको, २ दशमलव ३ प्रतिशतको मिर्गौला रोगका कारण मृत्यु भएको र २ दशमलव ३ प्रतिशत फलोअपमा नआएको अध्ययनमा देखिएको थियो । मृगौला रोगका कारण देखिएका यस्ता समस्या समाधानका लागि व्यक्तिगत रुपमै पनि सावधानी अपनाउन सकिने विज्ञहरुको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारमा गएका व्यक्ति मध्येपनि न्युन आय भएका र सूचनाको पहुँचमा नभएका समुदायका व्यक्ति बढी भएकाले सरकारी स्तरबाट जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ । 


प्रतिक्रिया