नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

भाद्र २६, २०८१

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको बुधबार एक वर्ष पूरा भएको छ । उनको सम्झनामा नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा प्रथम स्मृति सभा आयोजना गर्‍यो । एमालेले नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरे ।

नेताहरूका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि प्रधानमनत्री ओलीको भनाई थियो । पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएपनि अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजी सम्पती झैँ गरेर लगेको भन्दै ओलीले आपत्ति समेत जनाए । उनले नेताहरूको नाममा प्रतिष्ठान, विद्यालयहरू खोलेर दुरुपयोग गरिएको गुनासो प्रधानमन्त्री ओलीले गरे ।

इलाम २ बाट संसदमा निर्वाचित नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उनकै छोरा सुहाङ नेम्वाङ निर्वाचित भएका थिए । गत बैशाख १५ गते भएको उप निर्वाचनमा जितेर संसदमा आएका सुहाङले प्रतिनिधिसभा बैठकमा आफ्ना बुबा सुवास नेम्वाङले संविधान र राजनीतिक व्यवस्थाका लागि खेलेको भूमिकाको स्मरण गरेका छन् ।

संविधानसभा अध्यक्ष नेम्वाङले आफ्नै नेतृत्वमा घोषणा भएको संविधानले सबै विचार, वाद र आस्था तथा धर्म, संस्कृति र पहिचानलाई सहअस्तित्व र विकासको ठाउँ दिएको पनि मान्यता राखेका थिए । नेम्वाङलाई मुलुकको लोकतन्त्र र संविधान निर्माणको महत्वपूर्ण मार्गदर्शकका रूपमा स्मरण गरिएको छ । 


प्रतिक्रिया