गणतन्त्र र राजतन्त्र पक्षबीच आरोप प्रत्यारोपको शृङ्खला

चैत्र १४, २०८१
मुुलुकमा यतिखेर गणतन्त्र र राजतन्त्र पक्षबीच आरोप प्रत्यारोप शृङखला चलिरहेको छ । राजावादी दल र समूहले राजतन्त्र पुर्नस्थापनासहितको एजेन्डा राखेर आन्दोलन गर्ने तयारी गरिरहँदा सत्तापक्ष र प्रतिपक्षी दलले त्यसको प्रतिवाद गर्ने भएका छन् । पटक पटक सत्तामा पुगेपनि जनचाहना अनुसार काम गर्न नसकेको भनी आलोचित दलहरु आफू अनुकूलको व्याख्या गर्दै शक्ति प्रदर्शनको होडबाजीमा लागेका छन् । सुुशासन, समृद्धि, विकास निर्माणका पक्षमा काम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्ने दल राजावादी शक्तिलाई काउन्टर दिने मुडमा देखिनुलाई दुर्भाग्यपूर्ण मानिएको छ ।
राजतन्त्र पक्षधरले यही चैत १५ गते गर्ने भनिएको प्रदर्शनपछि गणतन्त्रका रक्षाका निम्ती भन्दै सत्तारुढ दल र विपक्षी दलले प्रदर्शनको घोषणा तयारी गरेका छन् । गत फागुन २५ गते पूर्व राजा ज्ञानेन्द्र शाहका पक्षमा स्वागत गर्न सडकमा हजारौंको संख्यामा उत्रिएपछि तरंगित बनेका मूलधारका राजनीतिक दलले प्रदर्शन गर्ने उद्घोष गरेका हुन् । सत्ता गठबन्धनको नेतृत्व गरेको नेकपा एमालेले समेत प्रतिगामी कदम विरुद्ध भन्दै चैत ३० गते सम्म जनसचेतना, जनपरिचालनका कार्यक्रम घोषणा गरिसकेको छ । एमालेले जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने बताएको छ । उसले सबै वडा र प्रमुख सहरमा प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै संघीय गणतन्त्रका पक्षमा जनचेतना फैलाउने जनाएको छ । सत्तामै भएका दलले आफ्नो संवाद सेवा प्रवाहबाट गर्ने कि सडकबाट गर्ने प्रश्न उब्जिएका छन् । सत्तारुढ दल सडक संघर्षमा जानै नहुने भनेर संविधानमा उल्लेख नभएकाले संवैधानिक व्यवस्था भन्दा बाहिर गएर हाल भइरहेका गतिविधि विरुद्ध सडकमा नागरिकलाई सुसुचित गर्न समेत जानुपर्ने अवस्था आएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको भनाई छ । उनले भने,‘सत्तारुढ दल भएर संविधानले सडकमा नजान भनेको छैन, मुलुको व्यवस्था र संविधानलाई नै संकटमा पार्न भइरहेका अराजक गतिविधि विरुद्ध जनताको साथमा जाने विषय स्वभाविक हो । ’
यता सत्तारुढ घटककै एक दल नेपाली कांग्रेसले भने सडक संघर्ष नगर्ने संकेत गरेको छ । कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठकमा संविधानमार्फत जनताका आवश्यकता, समस्या र महत्वकांक्षालाई सम्बोधन गर्न सकिने बताएको छ । तत्काल सडकमा शक्ति प्रदर्शन गर्ने आवश्यकता नभएको कांग्रेसको ठम्याई छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतले भने,‘शक्ति प्रदर्शन गर्ने तत्काललाई आवश्यक ठानिएको छैन,पार्टीले आफ्नो आफ्नो कोणबाट प्रदर्शन गर्ने ÷नगर्ने निर्णय गर्न सक्दछ । ’
संघीय गणतन्त्र एवं संघीयताको सुदृढीकरण र संविधान रक्षाका लागि भन्दै प्रतिपक्षी दलले कार्यक्रम घोषणा गरिसकेका छन् । विपक्षी चार दल समेत मिलेर बनेको समाजवादी मोर्चाले यही चैत १५ गते पूर्वराजाको सक्रियताविरुद्ध काठमाडौंमा प्रर्दशन गर्दैछ । जनतामा भइरहेको निराशा चिर्न समेत राजनीतिक आन्दोलनमा होमिएको उनीहरुको भनाई छ । राजतन्त्र पक्षधरदलबीच नै आन्तरिक किचलो रहेको अवस्थामा जनताले फालिसकेको राजतन्त्र फर्किन्छ भनेर प्रदर्शनमा उत्रने विषय दिवास्वप्ना मात्र हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए । उनले भने, ‘जनतालाई अहिलेको परिस्थित मध्यनजर गरेर प्रदर्शन गर्ने हो । राजतन्त्र पक्षधरले जनता निराश भएको मौका छोप्छु भन्नु दिवास्वप्न हो । उनीहरु बीचमै अन्तरविरोध छ ।’
मधेसकेन्द्रीत दलहरुले भने राजावादीको गतिविधिलाई व्यवस्था भन्दा पनि राजनीतिक नेतृत्वको प्रवृत्तिसँग जोडेर हेर्नुपर्ने बताएका छन् । वर्तमान व्यवस्था ल्याउन धेरैले शाहदत प्राप्त गरेका नेपाली जनताकै अभिमतबाट वर्तमान संविधान निर्माण भएको उल्लेख गर्दै सडक प्रदर्शनमा उत्रनु भने जरुरी नभएको जसपा नेपालको भनाई छ । सडकमा प्रदर्शनमा उत्रिएर फेरि राजतन्त्र फर्कन्छ भन्नु दिवास्वप्न हुने जसपा नेपालकी नेत्रृ रेखा यादवको भनाई छ । उनले भनिन्, ‘रोडमा प्रदर्शन गरेर जनतालाई दुख दिनु भनेको औचित्यहीन विषय हो ।, राजा आउने अवस्था आइपुगेको छैन । राजा पनि कतै न कतै कठपुतलीका रुपमा सञ्चालित भएको देखिन्छ ।’
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादीको गतिविधिबारे धारणा नराखेको भन्दै टिप्पणी भएका छन् । कतिपयले गणतन्त्रबारे रास्वपाको धारणा नआएको भनी आलोचना गरेको पाइन्छ । तर, रास्वपाका नेता सन्तोष परियारले आफूहरुको पार्टी २०७२ सालको संविधानपछि बनेकाले स्वभाविक रुपमा गणतन्त्रवादी भएको र त्यसमा शंका नगर्न आग्रह गर्छन् । उनले भने, ‘२०७२ को संविधान आएपछि बनेको पार्टी भएकाले गणतन्त्रवादी पक्षधर भएको विषयमा शंका गर्नु कुनै आवश्यक छैन ।’
गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिको पृष्ठभूमिमा फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्कने क्रममा राजतन्त्र पक्षधरले प्रदर्शन गरेपश्चात् गणतन्त्र भर्सेस राजतन्त्रको बहस निम्तिएको हो । यही अवस्थामा गणतन्त्रवादी दलको प्रदर्शनबारे राप्रपाका प्रवक्ता सगुन लावतीले भने, ‘परिवर्तन नजिक भएको सन्देश उहाँहरुले दिँदै हुनुहुन्छ ।, आफै अत्तालिएर गरेकाले परिवर्तन हुँदै छ भन्ने गणतन्त्रवादी दलहरुले प्रमाणीत गर्दै हुनुहुन्छ ।’
राजतन्त्र पक्षधरले सडक संघर्षको कार्यक्रम घोषणा गरिरहँदा गणतन्त्र पक्षधरले समेत प्रदर्शन गर्न खोज्नु ठिक नभएको टिकाटिप्पणी हुन थालेको छ । मनोवैज्ञानिक रुपमा एक पक्षले अर्को पक्षलाई निस्तेज पार्न समेत सो किसिमका गतिविधि हुने गरेको बहस हुने गरेका छन् । त्यस्तै, नागरिकको असन्तुष्टिलाई राजतन्त्र पक्षधरले क्यास गर्न खोजेको अर्थमा हेरिएको छ । राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले भने, ‘मनोवैज्ञानिक रुपमा एक अर्काले पराजित गर्न शक्ति प्रदर्शन गर्न खोजिएको देखिन्छ ।’
लोकतन्त्रमा राजनीतिक दलले शान्तिपूर्ण ढंगले प्रदर्शन गरेर आफ्ना एजेन्डा प्रस्तुत गरिनु स्वाभाविक मानिन्छ । राजनीतिक दलहरु प्रतिकार होइन, जवाफदेहिता लिएर नागरिकसामु जानुपर्ने हो । तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सशक्त र बलियो बनाउने भन्दा पनि व्यक्ति र सत्ता स्वार्थभन्दा माथि राजनीतिक नेतृत्व उठ्न नसक्दा अहिलेको परिघटनाहरु देखा परेका हुन् ।