एन्फा १ अर्ब ५६ करोडको बजेट ल्याउने गृहकार्यमा

चैत्र १८, २०८१ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले १ अर्ब ५६ करोडको बजेट वार्षिक साधारण सभामा लग्ने भएको छ । पछिल्लो समय नयाँ कार्यक्रम ल्याउन नसकेको भनेर आलोचनाको तारो बनेको एन्फाले महत्वाकांक्षी बजेट साधारणसभामा पेश गर्न लागेको हो । बजेटको आकार यत्रो छ कि नेपाली खेलकुदको पूर्वाधारका लागि सरकारले छुट्याएको रकम बराबर हुन आउँछ ।

खेलकुद पुर्वाधारतर्फ १ अर्ब ३० करोड विनियोजन गरेको सरकारले चालु आर्थिक वर्षमा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बजेट छुट्याएको छ । एन्फाले प्रस्तुत गरेको बजेट साधारण सभा र प्रतियोगिताहरु आयोजना गर्नको लागि हो । शीर्ष डिभिजनको लिग नियमित आयोजना गर्न नसकेको एन्फाको वार्षिक बजेट भने ठूलो आकारको छ । साथै खेलाडीले पाउनुपर्ने पुरस्कार रकम समेत पाउन सकेका छैनन् ।

एन्फामा पंकज विक्रम नेम्वाङ नेतृत्वको टिम निर्वाचित भएको तीन वर्ष पूरा भएको छ । यस बीचमा एन्फाको विषेश साधारण सभा २ र नियमित साधारण सभा २ गरि ४ वटा सभा भएको छ । एन्फाको अर्को विषेश साधारण सभा आगामी बैशाख २६ गते गर्ने भनिएको छ । एन्फाले वार्षिक साधारण सभाको लागि ४० लाख रुपैयाँ बजेट छुुट्याएको छ ।

एन्फाले नयाँ आर्थिक वर्षको लागि १ अर्ब ५६ करोडको बजेट साधारण सभामा लग्ने जनाएको छ । यो कुनैपनि संघले निकालेको अहिलेसम्मको ठूूलो महत्वाकांक्षी बजेट हो । तर महत्वाकांक्षी हुँदा हुँदै पनि यो कार्यान्वयन हुनेमा शंका छ । किन भने एन्फाले शीर्ष डिभिजन लिग नगरेकै २२ महिना भईसकेको छ । एन्फाको बचाउ गर्दै प्रवक्ता सुरेश शाह यसोे भन्छन्

“हामीले फिफा र एएफसीबाट पाउने वार्षिक अनुदान नै हाम्रो मुख्य श्रोत हो । त्यो संग जोडिएको अर्को विषय के हो भने, हामीले जुन फुटबल टुर्नामेन्टहरु गछौं, टिकटहरुबाट आउने पैसा, नेपाल सरकारबाट आउने अनुदान छ यो अनुदानहरु गरेर सम्पूर्ण बजेट चाँही यो हो ।

 आमीलाई आउने शीर्षक अन्तर्गत इन्फाइन्स्ट्रकचरको जुन साइकल चार वर्षको हुन्छ, त्यो पछिल्लो समय के भयो भने हाम्रो इन्फाइन्स्ट्रक्चरमा त्यो बजेट विनियोजन गरेको थियो । कार्यान्वयनमा यो वर्ष गएको छ । बजेटको हिसाबले प्लानिङ गरेकोले त्यो पैसा चाँही बढेको हो अहिले । हामीले एउटा ग्रान्ड अन्तर्गतको राष्ट्रिय लिगहरुको छ, टुर्नामेन्टहरु छ त्यो पनि एकै ठाउँ जोडेको कारणले बजेट बढेको देखिएको हो ।”

शीर्ष डिभिजन लिग गत २०७९÷८० मा भएपछि हुन सकेको छैन । हाल बी डिभिजन लिग भईरहेको छ । एन्फाले २ वर्षपछि गत भदौंमा एन्फा महिला लिग आयोजना गर्यो । 

२०७८ को चैतमा चितवनमा भएको लिगपछि पहिलो पटक महिला लिग भएको हो । महिला लिगलाई पनि वार्षिक कार्यक्रममा समावेश गरेर एन्फाले बजेट ल्यायो । तर सकिसकेको कार्यक्रमको पनि पुरस्कार राशी नपाएको लिग विजेता एपीएफ क्लबका प्रशिक्षक जिवेश पाण्डे सुनाउँछन्

“महिला लिगको उपाधि जितेपनि अहिलेसम्म पुरस्कार रकम पाइसकेको छैन । एन्फाको कार्यसमितीको बैठकबाट पुरस्कार रकम दिने भन्ने अनुमोदन गर्ने भन्ने चाँही बुझेको छौं हामीले । 

एन्फाले बजेट रकम त पेश गर्यो तर दिनु पर्ने पुरस्कार रकम नै दिएको छैन ।”

खेलकुदका अन्य संघहरुले आफ्नो वार्षिक क्यालेन्डर अनुुसार प्रतियोगिताहरु आयोजना गर्ने गर्छन् । नेपाल क्रिकेट संघ क्यानले गत फागुन २५ मा वर्ष २०२५ को क्यालेन्डर सार्वजनिक गर्यो । 

नेपाल भलिबल संघले पनि आफ्नो तालिका अनुसार प्रतियोगिताहरु आयोजना गर्दै आएको छ । तर, नेपालमा फुटबलको उचित क्यालेन्डर छैन । घरेलुु लिगहरु समयमै नहुँदा खेलाडीहरु पलायन हुने अवस्था छ । फुटबलर विराज महर्जन भन्छन्

“कति कुराहरु समेटेर एन्फाले बजेट घोषणा गरेको छ । त्यो अनुरुप एन्फाले सकै ठाँउमा लगानी गर्ने हो, खेलाडीहरुको हक हितको लागि र फुटबल बेटरमेनको लागि लगानी गर्ने हो भने एकदमै राम्रो कुरा हो । तर अनावश्यक कुरा खर्च गर्ने अथवा लगानी गरे बापत पनि आम्दानी राम्रो भएन भने त्यो एकदमै नराम्रो हुन्छ ।

 सो काणले गर्दा जुन किसिमले उहाँहरुले बैठकमा जुन बजेट पेश गर्नु भएको छ, त्यसमा फुटबल र खेलाडीको लागि लगानी गर्ने कुरा ल्याउनु भएको छ । त्यो सकारात्मक कुरा हो ।”

एन्फाको बजेट भनेको आफ्नो आन्तरिक श्रोतको बजेट भन्दा पनि यो एएफसी र फिफाले प्रदान गरेको आर्थिक सहायोग हो । अनुदानहरु एएफसी र फिफाबाट प्राप्त हुन्छ, त्यसैको आधारमा बनाईएको बजेट हो । 

फिफा र एएफसीले आफ्नो सदस्य राष्ट्रहरुलाई दिने रकमलाई एन्फाले आफ्नो बजेटको रुपमा प्रस्तुत गरेको हो । फुटबल जानकार प्रकाश तिमल्सीनाले भने

“एन्फाले आफ्नो रिसोर्सबाट हामीले यति वार्षिक रुपमा आम्दानी गर्छौ, र यति फुटबलको लागि खर्च गरौं भनेको भए, साँचै ओहो एन्फाले काम गर्यो भन्ने अर्थ लाग्थ्यो । यो खाली व्यवस्थापनको कुरा मात्रै हो । 

फिफा र एएफसीले दिने बजेटलाई तपाई कसरी युज गर्नु हुन्छ, जुन जुन प्रोगामलाई तपाईलाई दिइएको बजेट हो त्यो कसरी प्रायो गर्नु हुन्छ भन्ने चाँही एन्फालाई चुनौती हुनसक्छ । जब एन्फाले आफ्नै रिसोर्सेस खडा गरेर आफ्नो प्रोगाम बनाउँछ अनि बल्ल एन्फाले काम गर्यो भन्ने अर्थ लाग्न सक्छ । 

अन्तर्राष्ट्रिय सहयोगबाट आउने रमकलाई एन्फाले आफ्नो कार्यक्रममा समावेश गरेको हो । हामीले के हेर्नुपर्छ भने यो कार्यक्रम तय गरिएको हुन्छ, यो हुन्छ की हुँदैन भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।”

एन्फाले १ अर्ब भन्दा बढीको बजेट पेश गर्नु राम्रो हो । किनभने नेपाल प्रिमियर लिग एनपीएलमा पनि एक सय करोड भन्दा बढीको लक्ष्य राख्दा त्यो अस्वभाविक जस्तो लागेको थियो । 

तर, पछि त्योभन्दा बढी कारोबार एनपीएलमा भयो । तर त्यसमा फ्रेन्चाइज क्लबहरुको सहभागीता र लगानी पनि महत्वपूर्ण रह्यो । एन्फा एक्लैले यति ठूलो बजेट ल्याउनु सकारात्मक हो । 

तर हेर्न बाँकी एन्फाले आफ्नो कार्यक्रम कसरी संचालन गर्छ ? आगामी दिनमा रोकिएका लिगहरु संचालन हुन्छन् की हुँदैनन् ? ग्रास रुटमा कसरी कार्यक्रम गर्छ ? महिला फ्रेन्चाइज लिग गर्छु भनेर एन्फाले घोषणा गरेको छ । त्यो के हुन्छ भन्ने बारे प्रश्न चिन्ह्को घेरामा रहेको छ । 


प्रतिक्रिया