फिफा विश्वकप : टीम संख्या बढेसँगै ३२ टोलीले नकआउट स्टेजमा स्पर्धा गर्ने

मंसिर २४, २०८२ | काठमाडौं

विश्वकप फुटबलको महाकुम्भ सन् २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा, र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ । २३ औं संस्करणको विश्वकपमा यसपटक सर्वाधिक ४८ राष्ट्र सहभागी हुँदैछन् । प्रतियोगितामा ४ राष्ट्रले डेब्यु गर्दा, सहभागी हुने ६ टोलीको टुंगो लाग्न भने बाँकी छ ।

सहभागी टोलीको संख्या बढाएर ४८ पुगेको फिफा विश्वकपको ड्र सार्वजनिक भएको छ । सहभागीमध्ये ६ टोलीले प्ले अफको घुमाउरो बाटोबाट विश्वकपको टिकट काट्ने छन् । सहभागी टोलीलाई १२ समुहमा विभाजन गरिएको छ ।

टीमको संख्या बढेसँगै यसपटक अन्तिम १६ को सट्टा ३२ टोलीले नकआउट स्टेजमा स्पर्धा गर्नेछन् । १२ समूहका शीर्ष र दोस्रो स्थानमा रहने टोलीसँगै उत्कृष्ट तेस्रोमा अटाउने ८ टोलीले पनि नकआउट चरणमा स्पर्धा गर्नेछन् ।

यसअघि सन् १९९८ देखि फिफाले समूहचरण लगत्तै अन्तिम १६ मा स्पर्धा गराउँदै आएको थियो । त्यसपछि मात्रै अन्तिम १६ को स्पर्धा हुने भएकाले यसपटक विश्वकपमा १ सय ४ खेलहरु दर्शकले हेर्न पाउनेछन् ।

र यो संस्करणको विश्वकप यसअघिभन्दा केही बढी ३९ दिनसम्म चल्नेछ । विश्वकपको शुरुवात मेक्सिकोबाट हुनेछ भने फाइनल खेल अमेरिकामा आयोजना हुनेछ ।

समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया परेका छन् । अब यस टोलीमा युरोपेली प्ले अफ ‘डी’ को विजेता पर्नेछ ।

समूह ‘बी’ मा क्यानाडा, कतार र स्विटजरल्यान्डसँगै युरोपेली प्ले अफ ‘ए’ को विजेता पर्नेछ । यस्तै, समूह ‘सी’ मा चारै टोली छनोट भईसकेका छन् । यस समुहमा ब्राजिल, मोरेक्को, हाइटी र स्टकल्यान्ड छन् ।

समूह ‘डी’ मा अमेरिका, पाराग्वे, अस्ट्रेलियासँगै अब युरोपेली प्ले अफ ‘सी’ को विजेता सामेल हुनेछ ।

समूह ‘ई’ मा जर्मनी, कुराकाओ, आइभरीकोस्ट र इक्वेडर परेका छन् । कुराकाओ विश्वकप खेल्ने इतिहासकै सबैभन्दा सानो देश हो ।

जमैकालाई स्तब्ध पार्दै कुराकाओ विश्वकपमा छनोट भएको हो । यसअघि आइसल्यान्डले सन् २०१८ मा विश्वकप खेलेर फुटबलको महाकुम्भमा सहभागिता जनाउने सबैभन्दा सानो मुलुकको रेकर्ड बनाएको थियो ।

समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान र ट्युनिसिया छनोट भईसकेका छन् । अब यस समुहमा युरोपेली प्ले अफ ‘बी’ को विजेता पर्नेछ ।

बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड समूह ‘जी’ मा छन् । यस्तै, समूह ‘एच’ मा स्पेन, केप भर्डे, साउदी अरेबिया र उरुग्वे समावेश छन् ।

करिब ६ लाख जनसंख्या भएको केप भर्डे फिफा विश्वकपमा पुग्ने दोस्रो सानो देश हो । केप भर्डे इस्वाटिनीलाई हराएर विश्वकपमा छनोट हुन सफल भएको हो । केप भर्डेले सन् १९९० मा पहिलोपटक विश्वकप छनोट खेलेको थियो ।

समूह ‘आई’ मा फ्रान्स, सेनेगेल, र नर्वे सँगै प्ले अफ फिफा–टु को विजेता समावेश हुनेछ ।

यस्तै, समूह ‘जे’ मा डिफेण्डिङ च्याम्पियउन अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन परेका छन् । जोर्डनले विश्वकपमा डेब्यु गर्दैछ ।

जोर्डन यसपटक ए.एफ.सी छनोटअन्तर्गत समूह बी मा साउथ कोरियासँग पछाडि परेको थियो । जोर्डनले ४० वर्षअघि पहिलो पटक विश्वकप छनोटमा सहभागिता जनाएको थियो ।

समूह ‘के’ मा पोर्चुगल, उज्वेकिस्तान र कोलम्बिया छनोट भईसक्दा अब प्ले अफ फिफा वान को विजेता यसै समुमा पर्नेछ । एशियाबाट जोर्डनपछि विश्वकपमा पहिलो पटक छनोट भएको देश हो उज्बेकिस्तान ।

जर्मनीमा सन् २००६ विश्वकप र सन् २०१४ मा ब्राजिल विश्वकपमा उज्वेकिस्तान छनोट नजिक पुगेर वञ्चित भएको थियो । सहभागिता संख्या बढ्दा यसपटक जोर्डन र उज्बेकिस्तान दुबैले विश्वकपको टिकट काटे ।

यसैगरी समूह ‘एल’ मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा परेका छन् । फ्रान्सको तुलनामा अर्जेन्टिना, स्पेन र इंग्ल्यान्डले केही सजिलो समूह पाएका छन् ।

विश्वकपको उद्धघाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने छन् । विश्वकपअन्तर्गतका खेलहरु तीन देशका १६ शहरमा हुनेछन् ।

मेक्सिको र क्यानडाबाहेक साउथ कोरियामात्रै त्यस्तो देश हो जसले अमेरिकामा खेल्नेछैन । यद्यपि क्वार्टरफाइनलपछिका सबै खेलहरु अमेरिकी भूमिमा हुने भएकाले साउथ कोरियाले अमेरिकामा खेल्ने या नखेल्ने उसकै प्रदर्शनमा भर पर्छ । अमेरिकाले यसपटक ७८ वटा स्पर्धा होस्ट गर्नेछ ।

विश्वकपको उपाधि ब्राजिलले सर्वाधिक पाँच पटक जित्दा, जर्मनी र इटालीले समान चार÷चार पटक उपाधिमाथि कब्जा जमाएका छन् ।

यस्तै, अर्जेन्टिनाले तीन पटक उपाधि उचाल्दा, उरुग्वे र फ्रान्सले समान २÷२ पटक ट्रफि हात पारेका छन् । स्पेन र इंग्ल्यान्ड भने एक÷एक पटक विश्वकपको विजेता बनेको छ । 


प्रतिक्रिया