नुवाकोटमा चुनावी माहोल बढ्दै

माघ २०, २०८२ | काठमाडौं

अन्य जिल्लामा जस्तै बागमति प्रदेशको नुवाकोटमा पनि चुनावी माहोल बढ्दै गएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको नुवाकोटमा प्रमुख दलका नेताहरु बाजी मार्ने रणनीतिसहित चुनावी प्रचारमा व्यस्त छन् ।

नुवाकोट जिल्लाका मतदाताहरु अघिल्ला चुनावमा भोट हालेर जिताएर पठाएका प्रतिनिधिहरुले आफ्नो ठाँउको विकास नगरेको उनीहरुको गुनासो छ ।

आगामी चुनावका लागि आफ्नो घरदैलोमा उम्मेदवारहरु आइरहँदा मतदाताले स्वास्थ्य, शिक्षा, बाटो, खाने पानी, मल, बिउ बिजन लगायत बिषय उठाएको पाइन्छ ।

नुवाकोट दुई वटा निर्वाचन क्षेत्र भएको जिल्ला हो । दुवै क्षेत्रमा प्रमुख दलका नेताहरु चुनावी अभियानमा व्यस्त छन् ।

अघिल्लो पटक कंग्रेस र तत्कालिन माओवादी केन्द्र लगायत दलबीच चुनावी तालमेल भएको यहाँ यो पटक भने अन्य जस्तै दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन् ।

नुवाकोट १ मा कंग्रेसका डा. प्रकाशशरण महत, एमालेका बद्रि मैनाली, नेकपाका हितवहादुर तामाङ र रास्वपाका विक्रम तिमिल्सिना, राप्रपाका विमल थापासहित १८ जना उम्मेदवार छन् ।

नुवाकोट एकमा अघिल्लो निर्वाचनमा कंग्रेससँग तालमेलको फाइदा उठाउँदै तत्कालिन माओवादी केन्द्रका हितवहादुर तामाङले २६ हजार ५ सय ४८ मतसहित जितेका थिए । उनले लगातार दुई पटक सो क्षेत्रबाट चुनाव जितिसकेका छन् ।

२०७९ को चुनावमा एमालेका मैनालीले २३ हजार ४ सय ६५ मत ल्याएर दोस्रो भएका थिए भने रास्वपाका प्रद्युन्न महत ६ हजार १ सय १३ मतसहित तेस्रो स्थानमा थिए । अघिल्लो पटक तेस्रो स्थानमा आएको रास्वपाले यस पटक विक्रम तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।

नुवाकोट क्षेत्र नं २ अघिल्लो पटक नेपाली कंग्रेसले जितेको क्षेत्र हो । तत्कालिन माओवादी केन्द्रसहितको चुनावी गठबन्धनबाट कंग्रेसका अर्जुननरसिंह केसी २८ हजार १ सय ७ मत ल्याएर विजयी भएका थिए भने दोस्रो भएका रास्वपाका सुमन विक्रम पाण्डेले १६ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा एमालेका नारायण खतिवडाले १५ हजार ५ सय ६१ मत ल्याएका थिए ।

अहिले यो क्षेत्रमा कंग्रेसबाट जगदिशश्वर नरसिंह केसी, एमालेका केशवराज पाण्डे, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडा, रास्वपाका अचुत्तम लामिछाने र राप्रपाका झनक प्याकुरेलसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाली कंग्रेसले यो क्षेत्रमा आफ्नो विरासत कायम राख्ने प्रयास गर्दैछ भने एमाले र नेपाली कम्युनिष्ट पार्टी प्रभाव विस्तार गर्दै जित्न हासिल गर्ने रणनीतिमा छन् ।

नुवाकोट जिल्लाको दुई निर्वाचन क्षेत्रमा २९ पुरुष र एक महिला गरि ३० जना उम्मेवार चुनावी मैदानमा छन् । दुवै क्षेत्रमा गरी नुवाकोटमा १ लाख २८ हजार ८ सय ९० पुरुष र १ लाख १८ हजार ९ सय ७५ महिला गरि कुल २ लाख ४७ हजार ८ सय ६८ मतदाता छन् । 


प्रतिक्रिया