जिल्ला अस्पताल सल्यानको नियमित सेवा सुरु

जिल्ला अस्पताल सल्यान । तस्बिर : विप्लव महर्जन/रेडियो कान्तिपुर । 

आश्विन २१, २०७७ | सल्यान

स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि असोज १४ गतेबाट बन्द भएको जिल्ला अस्पताल सल्यानको नियमित सेवा आजबाट सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा बन्द गर्दै सिल गरिएको जिल्ला अस्पतालको नियमित सेवा बुधबारबाट सञ्चालनमा आएको हो । 

संक्रमित ती स्वास्थ्यकर्मीका अहिलेसम्म पुन: पीसीआर परीक्षण नगरेपनि उनलाई सल्यान बहुमुखी क्याम्सप लुहापिङ्गको आईसोलेसन सेन्टरमा राखिएको छ । अन्य स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जिल्लाबासीको माग र प्रदेश सरकारको सल्लाह बमोजिम अस्पतालको नियमित सेवा सुरु गरिएको अस्पतालका इन्चार्ज डा.भिमकान्त जैसीले बताउनुभयो ।

कोरोनाको संक्रमणबाट बच्न अनिवार्य रुपमा मास्क लगाई, भौतिक दूरी कायम गरेर र विभिन्न सावधानी अपनाएर बिरामी जाँच लगायत अन्य कामकाज गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा दैनिक सय देखि एक सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् । 

अस्पतालमा उपचारका लागि आएका बिरामी र अन्यलाई मास्क अनिर्वाय गरिएको छ । जिल्ला अस्पताल सल्यानले नियमित सेवा दिन थालेपछि उपचारका लागि आउने बिरामीले अबदेखि निजी अस्पतालमा जान नपर्ने उहाँले बताउनुभयो । 

जिल्लाका विभिन्न स्थानीय तहमा समुदायका स्थानीयलाई कोरोना देखिए पनि सावधानी अपनाएर तथा सुरक्षा सावधानी अपनाउँदा संक्रमणको जोखिम कम हुने उहाँको भनाई छ । जिल्ला अस्पताल सल्यानमा अहिलेसम्म दुई जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । 

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या चार सय ११ पुगेको छ । संक्रमण मुक्त हुनेको संख्या तीन सय ६० रहेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो । बाहिरबाट मानिसहरुको आउजाउ बढेसँगै समुदायमा कोरोना संक्रमित पनि धमाधम देखिन थालेको छ । संक्रमितलाई अहिलेसम्म कसैलाई लक्षण भने नदेखिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया