वीपी प्रतिष्ठानमा थप १० बेड आइसीयू भेन्टिलेटर विस्तार

कार्तिक १५, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा थप मेडिकल उपकरण जडान गर्ने काम सुरु गरेको छ । अक्सिजन, आइसोलेशन बेड, आइसीयू र भेन्टिलेटर अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेकाले उनीहरुको सुविधालाई मध्यनजर गर्दै उपचार सेवा विस्तार गरेको हो । 

प्रतिष्ठानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र कार्कीका अनुसार कोभिड अस्पतालमा थप १० वटा भेन्टिलेटर र १० वटा नन इन्भेसिभ भेन्टिलेटर (एनआइभ), ८ वटा हाइ फ्लो न्याजल क्यानुला (एचएफएनसी) जडान भइरहेको छ । 

उहाँले भन्नुभयो, ‘कोभिड अस्पतालमा २५ वटा हाई डिपेन्डेन्सि युनिट –एचडीयू) साथै अक्सिजन पोर्ट सहित ४० बेडको क्षमता विस्तार भईरहेको छ । कोभिड अस्पतालको हरेक बेडमा अक्सिजन पोर्ट जडान कार्य भईरहेको र दुई दिन भित्र जडान कार्य सम्पन्न हुन्छ ।’

थपिएका आइसीयू भेन्टिलेटर सहित प्रतिष्ठानको कोभिड अस्पतालमा २० वटा हुने छन् भने आइसोलेशन बेड १ सय ४० वटा हुनेछ । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा हालसम्म ६३ हजार ८ सय ६८ जनाको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएको छ । 

कोभिड अस्पताल सञ्चालन आएपछि प्रदेश १ र अन्यत्रको गरी १ हजार भन्दा बढी कोरोना संक्रमितलाई भर्ना गरेर उपचार गरिसकेको प्रतिष्ठानले जनाएको छ । उपकुलपति प्रा.डा गिरिले भन्नुभयो, ‘कोभिड अस्पतालमा भर्ना हुने कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनका लागि सानो अक्सिजन प्लाण्ट पनि जडान हुँदैछ । त्यसपछि हामीलाई अक्सिजनको अभाव हुँदैन । अक्सिजन प्लाण्टका लागि सरकारले आर्थिक सहयोग गरेको हो ।’ 

यसअघि कोभिड अस्पतालमा जडान गरिएका १० आइसीयूका भेन्टिलेटर पटकपटक बिग्रने, आइसोलेशन बेडमा अक्सिजन सप्लाई नभएको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, सुनसरीका प्रदेश र संघीय सांसदहरु र सरोकारवालाहरुले तत्काल सुधार गर्न दबाब दिएका थिए । 


प्रतिक्रिया