शिक्षकहरुमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द

मंसिर २८, २०७७ | सल्यान

सल्यानको कपुरकोट गाउँपालिका ३ स्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका शिक्षकहरुका कोरोना पोजेटिभ देखिएपछि बन्द गरिएको छ । शिक्षक मार्फत विद्यार्थीमा सर्ने र यसले भयावह रुप लिन सक्ने देखिएपछि विद्यालय बन्द गरिएको हो ।

 विद्यालयका आठ शिक्षकलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको सल्लाह अनुसार हाललाई एक साताका लागि बन्द गरिएको विद्यालयका प्रधानाध्यापक सिट्टिसाप बिष्टले बताउनुभयो । विद्यार्थीमा सरेपछि उनीहरुले अभिभावक लगायत अन्यलाई सार्ने खतरा बढेपछि विद्यालय बन्द गर्नु परेको उहाँको भनाई छ । 

आठ महिनापछि मात्र सो विद्यालय मंसिर ७ गतेदेखि संचालन गरिएको थियो । बालविकास देखि प्लस टु सम्म संचालित विद्यालय बन्द भएपछि विद्यालयमा अध्ययनरत ९ सय ५० बालबालिकाहरुको पठनपाठन प्रभावित भएको छ । विद्यालय बन्द भएपनि विद्यार्थीलाई नआत्तिन उनले आग्रह गर्नु भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षण देखिएमा कोरोना परिक्षण गराउनका लागि कपुरकोट गाउँपालिकाले सहमती जनाएको छ ।

अहिले नेपाल राष्ट्रिय मावि किमुचौर मात्र नभई सरस्वती प्रावि दानबाङ्गका एक शिक्षकलाई पनि कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा शिक्षा कृष्ण भण्डारीले बताउनुभयो । कोरोनाको उच्च जोखिमका बाबजुद पनि सरकारले गरेको निर्णय अनुसार विद्यालय संचालन गर्नु परेको उहाँको भनाई छ । 


प्रतिक्रिया