चाँगुनारायणमा १५ शैय्याको अस्पताल सञ्चालन

क्याप्सन : चाँगुनारायण नगरपालिका–४ हुचिढुङ्गास्थित चाँगुनारायण नगरले सञ्चालन गरेको चाँगुनारायण अस्पताल भवन । तस्बिर: लीला श्रेष्ठ/रेडियो कान्तिपुर 

मंसिर २९, २०७७ | भक्तपुर

भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नम्बर–४ हुचिढुङ्गामा १५ शैय्याको अस्पताल सञ्चालन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा एकैसाथ ३ सय ९६ स्थानीय तहमा १५ शैय्याको अस्पताल बनाउने अवधारणा अघि सारेको छ । तीमध्ये करीब २ सय ५० वटा स्थानीय तहमा मंसिर १५ मा अस्पतालको शिलान्यास भएको थियो । 

चाँगुनारायण नगरपालिकाले भने सोही अवधारणा अनुरुप प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गरेको छ । नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार २०४० सालमा स्थापित स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गरिएको हो । ‘२०४० सालमा स्थापना गरेको स्वास्थ्य चौकी २०५८ मा प्राथमिक स्वास्थ्य केन्द्र भयो, सोही प्राथमिक स्वास्थ्य केन्द्रको भवन २०६८ सालमा स्तरोन्नतिका लागि सम्झौता भएको हो,’ उहाँले भन्नुभयो, ‘सोही भवनमा अस्पताल सञ्चालन गरिएको हो ।’

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत २०६८ मा निर्माण सुरु भएको भवन बल्ल सम्पन्नको चरणमा छ । करीब ५ रोपनी क्षेत्रफलमा ३ वटा ब्लक सहितको अस्पताल भवन तयार छ । लोहनी ब्रर्दश/लाली गुँरास जेभीसँग ३ करोड ८७ लाख रुपैयाँ ठेक्का सम्झौता भई ९ वर्षअघि भवन निर्माण थालिएपनि विभिन्न मुद्दा लगायत समस्याका कारण समयमा निर्माण सम्पन्न हुन नसकेको शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक रामचन्द्र दंगालले बताउनुभयो । 

चाँगुनारायण अस्पतालले प्रसूति सेवा, नाक/कान/घाँटी रोग, आँखा, ओपीडी लगायत सेवा दिने नगर प्रमुख मिश्रले बताउनुभयो । हाल अस्पतालमा १७ जना कर्मचारी भएको र नवौं तहका मेडिकल सुपेरिटेन्डेन्ट, आठौं तहका २ अधिकृत सहित २७ जनाको दरबन्दी रहने उहाँले बताउनुभयो ।

मेडिकल सुपेरिटेन्डेन्ट सहित आवश्यक कर्मचारीको आवदेन खुला गरेको र पुसको पहिलो सातासम्म टुङ्गो लाग्ने उहाँको भनाई छ । अस्पताल उद्घाटन भएपनि पुस १५ गतेबाट मात्रै सञ्चालन हुने नगरपालिकाले जनाएको छ । ‘

आवश्यक सबै पूर्वाधार निर्माणको काम सकिएकाले अब कर्मचारी व्यवस्थापनपछि नगर अस्पताल संचालनमा ल्याउछौं,’ नगरप्रमुख मिश्रले भन्नुभयो । पहिलो चरणमा चाँगुनारायण अस्पताल कोरोना भाइरस (कोभिड–१९) विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने जनाएको छ । कोरोना संक्रमण भएर घरमै बसेका चाँगुनारायणबासीलाई अस्पताल लानुपर्ने अवस्था आएमा त्यहीँ उपचार हुने उहाँले बताउनुभयो ।


प्रतिक्रिया