मिर्गौला प्रत्यारोपण असफल, उपचारको जिम्मा अस्पतालले लिनुपर्ने माग

माघ ५, २०७७ | भक्तपुर

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–३ चरुवाका ३२ वर्षीय बुद्ध सिंह तामाङको मिर्गौला प्रत्यारोपण असफल भएको छ । पीडित बुद्ध सिंहको परिवारले केन्द्रका चिकित्सकको लापरबाहीका कारण मिर्गौला प्रत्यारोपण असफल भएको भन्दै केन्द्रले उपचारको जिम्मा लिनुपर्ने माग गरेको छ । 

बुद्ध सिंहले झण्डै ३ वर्ष डायलासिस गराए । पाँच जनाको परिवारका संरक्षक उनले मिर्गौला उपचारका लागि घर सहित ७ रोपनी जग्गा धितो राखेर ऋण लिए । करीब ५ लाख रुपैयाँ चन्दा समेत उठ्यो । त्यो सबै रकम सिद्धियो । उनी झण्डै १२ लाख रुपैयाँ ऋणमा छन् ।

डायलासिस गर्दागर्दै थल्लिएका बुद्ध सिंहलाई मिर्गौला प्रत्यारोपणको अर्को विकल्प भएन । उनलाई मिर्गौला दान दिन तयार भएकी बहिनीको ब्लड ग्रुप मिलेन । बुद्ध सिंहलाई मिर्गौला दिन तयार भए बुबा कृष्णबहादुर तामाङ । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलियो । 

लकडाउन अघि नै मिर्गौला प्रत्यारोपण गर्न तयार भएका बुद्ध सिंहको परिवारले झण्डै १० महिना पर्खिनु पर्‍यो । गत पुस २४ गते (शुक्रबार) शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवालीको नेतृत्वमा बुबा कृष्णबहादुरको बायाँ मिर्गौला निकालेर बुद्ध सिंहलाई प्रत्यारोपण गरे । तर, मिर्गौला प्रत्यारोपण गरेको १५ मिनेटपछि मिर्गौलाले काम गर्न छोडेको कुरा बुद्ध सिंहको परिवारले दुई दिनपछि मात्र थाहा पाए । 

मिर्गौला प्रत्यारोपणपछि खुसी भएको उनको परिवारमा निरासा छायो । ‘बुबा/छोराको स्वास्थ्य अनुकूलता कै बीच मिर्गौला प्रत्यारोपण भएको हो,’ बुद्ध सिंहका बुबा कृष्णबहादुरले भने, ‘मिर्गौला प्रत्यारोपण भएको दुई दिनपछि मात्र थाहा भयो, मैले छोराको लागि दान गरेको मिर्गौलाले १५ मिनेट पछि काम गरेन् र निकाल्नु पर्‍यो ।’ 

बुद्ध सिंहलाई मिर्गौला दान गरेका बुबा कृष्णबहादुर साता दिनमा डिस्चार्ज भए । सोमबार ड्रेसिङका लागि केन्द्रमा पुगेका कृष्णबहादुरले बुबा/छोराकै जीवन धरापमा परेको बताए । ‘मेरो बाँच्ने आधार नै सकियो, दुबैको ज्यान धरापमा पर्‍यो,’ उनले भने, ‘घरमा ३ जना लालाबाला नातिनातिना छन्, ऋणले थिचिएको छ । अब हामी उपचार गर्न सक्ने अवस्थामा छैनांै ।’ बुद्ध सिंहको स्वास्थ्यमा समस्या आएपछि पत्नीले समेत छोडेर गएको उनको गुनासो छ ।

मिर्गौला प्रत्यारोपण असफल भएका बुद्ध सिंह केन्द्रकै प्रत्यारोपण कक्षमै उपचाररत छन् । केन्द्रका कार्यकारी निर्देशक प्रेमराज ज्ञवाली एक साताको बिदामा भएको र अस्पतालमा हाजिर भएपछि पीडित बुद्ध सिंहलाई कसरी अस्पतालले थप सेवाका लागि पहल गर्ने भन्ने निक्र्यौल हुने केन्द्रको प्रशासनले जनाएको छ । 

बुद्ध सिंहको मिर्गौला प्रत्यारोपणमा संलग्न डा.विजय कटुवालले भने मिर्गौला प्रत्यारोपण अवधिभर कुनै समस्या नआएको र प्रत्यारोपणमा भईसकेपछि रक्त सञ्चार भएपनि पिसाबमा समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्यारोपण भईसकेको मिर्गौला ननिकाल्दा पीडितको स्वास्थ्यमा थप समस्या आउने भएकाले तल्कालै निकाल्यौं ।’ 

केन्द्रका अनुसार एक सय जनाको मिर्गौला प्रत्यारोपण हुँदा करीब १० प्रतिशतको असफल हुने गरेको छ । केन्द्रमा हालसम्म प्रत्यारोपण भएका करीब ७ सय मिर्गौला प्रत्यारोपणमा ६ जनाको असफल भएको डा.कटुवालले बताउनुभयो । बुद्ध सिंहको हकमा केन्द्रले नि:शुल्क सेवा दिने डा.कटुवालको प्रतिबद्धता छ ।


प्रतिक्रिया