कोरोना कहरकाबीच वीरगञ्जमा डेंगुको प्रकोप

वैशाख ६, २०७८ | पर्सा

कोरोना भाइरसको महामारीकाबीच वीरगञ्ज महानगर क्षेत्रमा डेंगुको प्रकोप फैलिएको छ । कोरोना संक्रमणको पहिलो लहरमा अग्रपंक्तिमा खटिएका नारायणी अस्पतालका चिकित्सक डा.उदय नारायण सिंह पनि डेंगुको सिकार भएका छन् । उनी एक सातायता घरमै विश्रामरत छन् । 

डा.सिंहले कोरोनाको पहिलो लहरमा बिरामीमा लिम्फोसाइट काउन्ट घट्ने साझा समस्या देखिएकोमा हाल दोश्रो लहरमा भने प्लेटलेटको मात्रा घटने समस्या देखिएको बताउनुभयो । ‘शरीरमा प्लेटलेटको मात्रा घट्नु डेंगुको लक्षण हो,’ उहाँले भन्नुभयो, ‘अब कोभिड–१९ सँगै सर्वसाधारणले डेंगुको पनि परीक्षण गर्नुपर्ने अवस्था आएको छ ।’

वीरगञ्जमा कोरोनाको दोश्रो लहर सुरु हुनु अघि आफूले डेंगुको ५ जना बिरामीको उपचार गरेको उहाँले जानकारी दिनुभयो । नारायणी अस्पतालकै अर्का चिकित्सक डा.जेपी जैसवालले अस्पतालमा दैनिक १ सय भन्दा बढी ज्वरोका बिरामी आई रहेको तथा ती मध्ये विभिन्न रोगका बिरामी रहेको बताउनुभयो ।

 ‘हाल अस्पतालमा दैनिक १ सय बढी ज्वरोका बिरामी आउँदैछन्,’ उहाँले भन्नुभयो, ‘ती मध्ये केही डेंगुका, केही टाइफाइडका र केही कोरोनाका बिरामी रहेका छन् ।’अस्पताल र क्लिनिकमा समेत गरी आफूले ७/८ जना डेंगुका बिरामीको उपचार गरी सकेको डा. जैसवालले जानकारी दिनुभयो । 

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतोले आफ्नो जनशक्ति हाल कोभिड नियन्त्रणमा बढी सक्रिय भएकाले डेंगु नियन्त्रणतर्फ चाहेर पनि काम गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । 


प्रतिक्रिया