कोसीको कोरोना प्रयोगशालामा क्यान्सरको परीक्षण सुरु

मंसिर ९, २०७८ | विराटनगर

विराटनगरस्थित कोसी अस्पतालको कोरोना प्रयोगशालामा पाठेघरको मुखमा क्यान्सर पता लगाउन गरिने आधुनिक परीक्षण सेवा सुरु भएको छ । 

‘पाठेघरको मुखबाट लिइएको स्वाबको आरटी–पीसीआर परीक्षण विधिबाट पाठेघरको मुखमा क्यान्सर भए/नभएको पता लगाउने गरिएको प्रयोगशालाका क्लिनिकल माइक्रोबायोलिजस्ट प्रणवकुमार यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘पीसीआर परीक्षणमा जस्तै यसमा पनि क्यान्सर भए पोजिटिभ, नभए नेगेटिभ रिपोर्ट आउँछ । कोरोना परीक्षण र यसमा प्रयोग हुने रिएजेन्ट मात्र फरक हुन्छ ।’ यसमा पनि स्वाबलाई भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मा राखेर परीक्षण गर्ने गरिएको यादवले बताउनुभयो । 

चिकित्सकीय भाषामा ‘एचपीभी डीनए पीसीआर एण्ड जेनोटाइपिंग टेस्ट’ भनिने यो सेवा सुरु गर्ने नेपालको सरकारी अस्पतालहरु मध्ये कोसी अस्पताल पहिलो भएको प्रयोगशालाका क्लिनिकल माइक्रोबायोलिजस्ट यादवले बताउनुभयो । यादवका अनुसार अन्य अस्पताललले स्वाबलाई स्लाइडमा राखेर माइक्रोस्कोपले हेरेर रिपोर्ट तयार पार्छ जसलाई प्याथोलोजी स्मियर टेस्ट भनिन्छ । 

अत्याधुनिक आरटी–पीसीआर स्वचालित यन्त्रले जस्तो भरपर्दो रिपोर्ट माइक्रोस्कोपले हेरेर दिन नसकिने उहाँको भनाई छ । ‘काठमाडौंको निजी अस्पतालमा मात्र, त्यो पनि महँगो शुल्कमा हाम्रो जस्तो अत्याधुनिक परीक्षण सेवा उपलब्ध छ,’ यादवले भन्नुभयो, ‘काठमाडौं बाहिरका अधिकांश अस्पतालले क्यान्सरको शंका गरिएका बिरामीको स्वाब परीक्षणका लागि बढी भारततिरै पठाउँछ ।’ 

काठमाडौंको निजी अस्पतालमा ५ हजार रुपैयाँ र भारतमा १० हजार रुपैयाँसम्म लिइने यो परीक्षणको शुल्क कोसीले भने मात्र २ हजार ५ सय रुपैयाँ तोकेको छ ।उहाँको अनुसार यो परीक्षणमा पाठेघरको मुखको क्यान्सरका लागि कारक मानिने एचपीभी (हुमन पापीलोभा भाइरस) को किसिम समेत पता लाग्छ । 

यादवले भन्नुभयो, ‘यसबाट बिरामीलाई कस्तो उपचार र कुन सुई दिने निर्धारण गर्न चिकित्सकलाई सहज हुन्छ ।’ स्वास्थ्य जाँच क्रममा प्रसूति विभागमा आउने सेवाग्राहीमध्ये क्यान्सरको शंका गरिएकालाई विज्ञ चिकित्सकले परीक्षणका लागि यहाँ पठाउने यादवको भनाई छ । 

यादवको अनुसार बिहीबारसम्म तीन जनाले यो परीक्षण गराइसकेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले प्रयोगशाला एवं सल्यक्रिया विभागलाई आधुनिक बनाउन एकपछि अर्को प्रविधि भित्र्याइरहेको जानकारी दिनुभयो । 


प्रतिक्रिया